नेपालमा संविधान जारीलगत्तै भारतले नाकाबन्दी लगाउनुका तीन कारण यी हुन् : प्राध्यापक एसडी मुनी

जनकपुर । नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले संविधानसभाबाट संविधान जारीलगत्तै भारतले नाकाबन्दी लगाउनुमा तीन कारण रहेको औंल्याएका छन् ।नर्थ-साउथ कलेक्टिभले जनकपुरमा आयोजना गरेको नेपाल-भारत सम्बन्ध र मधेश विषयक मधेश विमर्शमा मुनीले संविधानमा धर्म निरपेक्षता शब्द राख्ने पक्ष नरहेकाले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा मधेश घुम्न र त्यहाँको जनतासँग अन्तर्क्रिया गर्न चाहेकाले यी दुवैबाट नेपाल पन्छिएपछि नाकाबन्दी लगाइएको दाबी गरे ।
‘भारतका नेताहरुको आत्मसम्मानको कुरा थियो । उनीहरुलाई धेरै रिस उठ्यो । जुन तपाईंहरुलाई थाहा छ कि, जयशंकरलाई पठाउनु र त्यसपछि नाकाबन्दी गर्नु, त्यसमा केही मधेशको विषय थियो । तर प्रभावकारी रुपमा जुन व्यक्तिगत रिस धेरै ठूलो थियो । त्यसैले पछि मधेशको विषयमा सम्झौता भयो,’ उनले भने ।
उनका अनुसार भारतले मधेशलाई प्राविधिक रुपमा मात्र हेरेको छ । भारतले मधेशलाई रणनीति रुपमा हेर्नुपर्थ्यो । तर, प्राविधिक रुपमा मात्र प्रयोग गरिरहेको उनले बताए । मधेशलाई धेरै माया गर्यो भने संघीय सरकार चिढिने भारतको मनोविज्ञान छ । त्यसैले भारतले मधेशलाई प्राथमिकतामा राखेर खसआर्य सत्तालाई अरु देशतिर ढल्किन दिने मनसायमा नरहेको उनले उल्लेख गरे ।
प्राध्यापक मुनीले मधेशको विषयमा मधेशी नेता र दलहरु एकढिक्का नभएसम्म भारतको महत्त्वमा नपर्ने बताए ।