काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्ने बताउनुभएकाे छ ।
तिहारकाे अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पाैडेलले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभएकाे छ ।
नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएकाे उल्लेख गर्दै उहाँले नेपालमा मनाइने जात्रा पर्वले विविधतालाई एकतामा बाँध्ने काम गर्दै आएको सन्देशमा लेख्नुभएकाे छ ।
नेपालमा मनाइने विभिन्न पर्वमध्ये दशैं र तिहार हिन्दुहरूको महान् चाड भएकाे र यिनले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाँंध्ने गरेको उहाँले उल्लेख गर्नुभएकाे छ । ‘बडा दशैंमा शक्तिकी स्राेत देवीको पूजा आराधना गरी मनाइन्छ भने तिहारमा काग, कुकुर, गाई, गोरु, पर्वत, लक्ष्मी र दाजुभाइको पूजा तथा आराधना गरी मनाइने चलन छ, मानव र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्धका स्वरूप गोवर्द्धन पर्वत, मानव र अन्य जनावरबीचको सुमधुर सम्बन्धलाई स्थापित गर्न गाई, कुकुर, काग लगायत जनावरको पूजा गरी अन्तिम दिन दिदीबहिनी र दाजुभाइबीचको अटुट सम्बन्धको प्रतीकका रूपमा भाइटीका लगाएर यो चाड समापन गरिन्छ’-राष्ट्रपति पाैडेलले लेख्नुभएकाे छ ।
गाई पूजा गरी देउसी भैलो खेल्ने प्रचलनले मौलिक संस्कृति संरक्षण गर्ने अर्को महत्त्वपूर्ण कडिका रूपमा तिहार पर्वलाई हेरिने उहाँले उल्लेख गर्नुभएकाे छ ।
नेवार समुदायले म्हपूजा गरी आत्माशुद्धि गर्ने चलन पनि यसै पर्वको महत्त्वपूर्ण पक्ष भएकाे राष्ट्रपति पाैडेलले उल्लेख गर्नुभएकाे छ ।
पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र प्रकाशको भएकाे पनि उहाँले उल्लेख गर्नुभएकाे छ । ‘त्यसैले तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौँ, उज्यालो आफैंमा प्रेरणाको विम्ब हो, तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना गर्दछु’- राष्ट्रपति पाैडेलले लेख्नुभएकाे छ ।