आज दशैंकाे अन्तिम दिन तथा काेजाग्रत पूर्णिमा

काठमाडौं । आज काेजाग्रत पूर्णिमा अर्थात बडादशैंकाे अन्तिम दिन, धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।
आश्विन शुक्ल पूर्णिमाका दिन साँझ महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादशैं पर्व सकिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व आज कोजाग्रत पूर्णिमाका दिमहालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि सकिन्छ ।
आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।
नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने क्रम आजैदेखि सकिन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ । माता दुर्गाका तीन रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन सकिन्छ ।
महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्ने गरिन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको पूजा आराधना गरिने भएकाले पूर्णिमा पर्वकाे विशेष महत्व छ । पूर्णिमाका अवसरमा देशभरका शक्तिपिठमा भक्तजनकाे घुइँचाे लागेकाे छ । पूर्णिमाका अवसरमा विभिन्न ठाउँमा मेला समेत लाग्छ