आज महानवमी, सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडाैं । आज बडादशैंकाे नवाैं दिन अर्थात महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लाससाथ मनाइँदैछ ।

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैं घरम नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको आज विधिपूर्वक पूजा आराधना गरिन्छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेकाे छ । महानवमीका दिन दुर्गा पूजा लगायत काम गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

नवरात्रिमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजा गर्ने, देवी महात्म्य पाठ गर्ने शक्तिपीठ दर्शन गर्ने प्रचलन छ । दशैंघर र कोत लगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा,भेडा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

अधिकांश ठाउँमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने प्रचलन छ । यद्यपि पशुबलि नदिनेहरुले भने आज आआफ्नो कुल परम्पराअनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिइ पायस पनि चढाउने गर्छन् ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वसाथ लिइन्छ । नवरात्रकाे आफ्नै महत्व भए पनि घटस्थापना, फूलपाती, महाष्टमी, महानवमी र विजया दशमी चार दिनको महत्व अझ धेरै महत्व छ ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँसाथ कोतपूजा र निशाना पूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जंगी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

हनुमानढोका दरबारमा रहेको तलेजु भवानीकाे मन्दिर महानवमीकाे अवसरमा खाेल्ने गरिन्छ । साे मन्दिर वर्षमा १ दिन अर्थात महानवमी पर्वकाे दिन मात्र खाेल्ने गरिन्छ । वर्षमा एक दिनमात्र खुल्ने भएकाले दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्छ ।