Trending Now

ग्वार्कोस्थित ‘फ्लाईओभर’ निर्माणकालागिआजदेखि ट्राफिक व्यवस्थापन

सरकारी लगानीमा पहिलोपटक बन्न लागेको ग्वार्कोस्थित ‘फ्लाईओभर’ निर्माणका लागि तयारी अघि बढाइएको छ । अहिलेसम्म डिजाइनको काम भइरहेकामा भौतिक कामका लागि आजदेखि सवारी साधनको व्यवस्थापन सुरु गरिएको छ ।

भौतिक काम एक सातादेखि १० दिनभित्रमा सुरु गर्ने तयारी गरिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता (सिनियर डिभिजनल इन्जिनियर) सौरभ बज्राचार्यले बताए । उनका अनुसार केन्द्रले  मिल्नेसम्मको काम बाहिर गरी यहाँ ल्याएर जडान गर्ने योजना बनाएको छ । बिमलगायत संरचना अन्यत्र बनाएर यहाँ ल्याएर जडान गरिने छ । यो खण्डमा सवारी साधनको चाप धेरै रहेकाले पहिले सवारी साधनलाई अवरोध हुने काम सेकेपछि अन्य काम गर्ने योजना बनाइएको छ । प्रवक्ता बज्राचार्यले भने– “पहिले अरू ठाउँमा बनाउन मिल्ने कुरा बनाइसकेपछि मात्रै खन्ने काम हुनेछ ।”

महानगरीय ट्राफिक प्रहरी महाशाखाले निर्माणलाई लक्ष्य गरी आजदेखि सोही सडकमै सवारी साधनको व्यवस्थापन सुरु गरिसकेको छ । अहिले सवारी साधन एउटा लेनबाट अर्कोतिर मोड्नका लागि कतिपय संरचना हटाउनुपर्ने रहेको केन्द्रले जनाएको छ । मुख्य सडकमा काम हुँदा सहायक सडकहरूबाट सवारी साधन पठाएर काम गर्ने गरी ट्राफिक प्रहरीसँग छलफल गरिएको प्रवक्ता बज्राचार्यले बताए । अहिले सहायक सडक (सर्भिस ट्याक) मा पार्किङ गर्न नदिए केही सहज हुनसक्ने उनको भनाइ थियो ।

‘फ्लाईओभर निर्माण अबको १६ महिनामा सम्पन्न गर्ने गरी लक्ष्य लिइएको केन्द्रले जनाएको छ । खोलामा पुल निर्माण गर्दा वर्षामा काम गर्न नसकिने भए पनि यहाँ त्यस्तो समस्या नहुने भएकाले निर्माण कम्पनीले बाह्रै महिना काम गर्नसक्ने प्रवक्ता बज्राचार्यले बताए । सो योजनामा अहिलेसम्म डिजाइनको काम भइरहेकामा सडक बनावटका आधारमा डिजाइनको कामले लामो समय लिएकोे र अहिले फाइलन हुने क्रममा रहेकाले निर्माण अघि बढ्ने उनले जानकारी दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (प्रहरी वरिष्ठ उपरीक्षक) राजेन्द्रप्रसाद भट्टले हालका लागि बल्खुबाट सातदोबाटो र बालकुमारीबाट सातदोबाटोसम्मको सडक खण्डमा सवारी साधनलाई विभाजन गरी चल्न दिइएको बताए । उनका अनुसार भारी सवारी साधन र दुई पाङ्ग्रे सवारी साधनलाई सहायक लेनबाट चल्न दिइने छ भने र हलुका सवारी साधन मुख्य लेनमा चल्न दिइने छ । चीन सरकारले विस्तार गरेको चक्रपथको सो खण्डको बीचमा चार लेन ‘एक्प्रेस रोड’ र छेउमा दुई/दुई लेन सहायक सडक छन् ।

प्रवक्ता भटृले भने, “निर्माणका क्रममा बीचको मुख्य लेन पूरै अवरोध हुने अवस्थामा सर्भिस लेनबाट नै सबै सवारी साधन पठाउनुपर्ने हुनसक्छ ।” सवारी साधन व्यवस्थापनमा अहिले नै समस्या हुने र सबै सवारी साधन सहायक लेनबाट चलाउँदा चाप अति भएर थेग्न गाह्रो हुनसक्ने उनको भनाइ थियो  । पिलर उठाउने समयमा खाल्डा खन्नुपर्ने हुँदा मुख्य सडक पूरै अवरुद्ध हुने देखिएको छ । प्रवक्ता भटृले भने– “अबको डेढ वर्षमा यो खण्डमा प्रभाब पर्ने देखिन्छ ।”

सरकार आफैँले इपिसी (इन्जिनियरिङ प्रोक्युअमन्ट् एण्ड कन्सट्रक्सन) मा सम्झौता गरी सो ‘फ्लाईओभर’ निर्माण अघि बढाएको हो । यो ठेक्का प्रक्रियामा ‘डिजाइन एण्ड बिल्ड’का लागि गरिएको सम्झौताजस्तै डिजाइनको काम पनि निर्माण कम्पनीले नै गरेको केन्द्रले जनाएको छ । चुनौती बहन गर्ने विषयमा भने इपिसिमा ‘डिजाइन एण्ड विल्ड’ भन्दा फरक छ । ‘डिजाइन एण्ड विल्ड’ का केही कुरा सम्बन्धित आयोजनाले हेर्छ भने इपिसिका सम्पूर्ण काम र जिम्मेवारी निर्माण  कम्पनीको हुनेछ । इपिसिअनुसार निर्माण गर्दा कार्यालयले यस्तो हुनुपर्छ भनेर ‘कन्सेप्ट’ दिएकामा आवश्यकताअनुसार केही परिवर्तन हुनसक्ने उनले बताए ।

निर्माणको अवधिमा मुख्य लेनमा सवारी साधन चल्न नपाउँदा सडक व्यवस्थापनका लागि सहायक लेन प्रयोग गर्नुपर्ने हुन्छ ।  ‘फ्लाईओभर’ को गत वर्ष फागुन १९ मा डिजाइन सुरु भएको थियो । सरकार आफैंले निर्माण गर्न लागेको पहिलो ‘फ्लाईओभर’ सरकार र निर्माण व्यवसायी दुबैका लागि नयाँ हो । अहिलेसम्म ‘फ्लाईओभर’ निमर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि धेरै सडक र पुल बनाइसकेकाले जिम्मेवारी नेपाली व्यवसायीलाई नै दिइएको सडक विभागले बताउँदै आएको छ । यसअघि नेपाली व्यवसायीले मुग्लिन पुल, धोबीखोला पुललगायत अन्य ठूला र जटिल खालका पुल बनाएर आफूलाई प्रमाणित गरिसकेको छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ‘फ्लाईओभर’ को उचाइ छ मिटर हुने केन्द्रले जनाएको छ । बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि फ्लाईओभर पुगिनेछ । त्यतातर्फ दुई सय ८० मिटर लामो  ‘¥याम’ हुने र सातादोबाटोतर्फ झर्न एक सय ७५ मिटर लम्बाइको ‘¥याम’ हुने बताइएको छ । ‘सुपर स्ट्रक्चर’ ३५ मिटर लम्बाइको हुने ‘फ्लाईओभर’ को जम्मा लम्बाइ चार सय ९० मिटर हुनेछ । मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन सिधै चल्ने बताइएको छ ।

यस वर्ष ग्वार्कोमा निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेकामा आगामी आवमा सातदोबाटो र एकान्तकुनामा पनि ‘फ्लाईओभर’ निर्माण गरिने सडक विभागले जनाएको छ । जापान सरकारको ऋण सहयोगमा नागढुङ्गा सुरुङमार्ग आयोजनाअन्तर्गत पनि एउटा ‘फ्लाईओभर’ निर्माण भएको छ ।

जम्मा २० महिनामा सम्पन्न गर्ने गरी यो योजना निर्माणका लागि गत फागुनमा  आरसी, समानान्तर र रेलिग्रे जेभीसँग सम्झौता भएको थियो । यसको बजेट रु १७ करोड ६८ लाखमा रहेको छ । विसं २०८० सम्ममा निर्माण सकेर ‘फ्लाईओभर’ सञ्चालनमा ल्याइने अपेक्षा गरिएको छ ।

रासस

Comments are closed.