पाथीभरामा केबलकार निर्माणको विरोधमा पाँच दिनदेखि जारी यातायात बन्द

पाथीभरामा केबलकार निर्माणको विरोधमा पाँच दिनदेखि जारी यातायात बन्द

 

ताप्लेजुङ- पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा पाँच दिनदेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ । गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबिचको झडपमा दुई जनालाई गोली लागेपछि आन्दोलनरत पक्षले यातायात बन्द आह्वान गरेको हो ।

आन्दोलनरत पक्षले केबलकार निर्माणको काम तत्काल रोक्नुपर्ने, गिरफ्तार गरिएका प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई रिहा गर्नुपर्ने, काफ्लेपाटीमा रहेको सशस्त्र र नेपाल प्रहरीको टोली फर्काउनुपर्ने र वार्ताको वातावरण बनाउनुपर्ने माग गर्दै आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन्।

उता ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनामा उत्पन्न अवरोध र समस्याका बारेमा गृह मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक समन्वय गर्न निर्देशन दिएको छ। विहिबार ११३५ नम्बरको चलानी पत्रमार्फत गृह मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक समन्वय निर्देशन गरेको हो।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट जारी पत्रमा स्थानीय स्तरमा उठेका सवालहरू र सरोकारलाई ध्यानमा राख्दै सरोकारवालाहरूसँग समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल अघि बढाउन अनुरोध गरिएको छ। पत्रमा उल्लेख गरिएअनुसार, केवलकार नियमनको विषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्ने भएकाले सम्बन्धित निकायहरूबीच समन्वय गरेर समाधान खोज्न आग्रह गरिएको हो। स्थानीयस्तरमा केही प्राविधिक तथा व्यवस्थापकीय चुनौतीहरू देखिएपछि यसबारे विभिन्न निकायहरूमा चासो बढेको छ। गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाद्वारा हस्ताक्षरित पत्रमा अवरोध हटाई परियोजनालाई सहज बनाउन तदारुकताका साथ पहल गर्न निर्देशन दिइएको छ ।

यता ताप्लेजुङमा आइतबार (भोली) सरोकारवालासँग छलफल गर्ने मिति तय भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए। “प्रदेश र संघीय सरकारमार्फत पनि वार्ता र समन्वय हुनेछ। जिल्लाबाट पनि गरिँदै छ।“ उनले भने, “जिल्लामा शान्ति सुरक्षा प्रवाह, अलपत्र परेका यात्रुको उद्धार लगायत काम गरिरहेका छौं। आज पनि केही तिर्थयात्री र पर्यटकहरू जिल्ला भित्रिएका छन् । उहाँहरुलाई सुरक्षा दिने छौं।“

पाथीभरामा केबलकार नालीबेली
फुङलिङ–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २.७ किमी केबलकार निर्माण भइरहेको छ । आन्दोलनरत पक्षले पाथीभरा मुक्कुमलुङ लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले यथावत् राख्नुपर्ने माग गर्दै आएका छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मेडाँडामा मोटर बाटोको ट्र्याक पुगेपछि उद्घाटन गर्न तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य शाह २०४४ पुस १९ मा फुङलिङ पुगेका थिए । त्यस क्रममा ओलाङचुङगोलाका व्यापारी छवाङ तेन्जिङ शेर्पाले पाथीभरामा केबलकार बनाउनुपर्छ भन्ने प्रस्ताव गरेका थिए । छवाङ, सोनाम तेन्जिङ र फुर्बु वालुङले २०५४ मा कञ्चनजंघा केबलकार प्रालि दर्ता गरे ।

केबलकार निर्माणको तल्लो स्टेसन बनाउन काफ्लेपाटीमा ९२ रोपनी जमिन भएका ध्र्रुवनारायण श्रेष्ठ २०४३ सालका विराटनगर उपमहानगर प्रमुखले २०७२ मा पाथीभरा देवी केबलकार दर्शन प्रालि कम्पनी दर्ता गरे । त्यसअघि नै संघाई ग्रुपका सुभाष संघाईले त्रिवेणी केबलकार कम्पनी दर्ता गरिसकेका थिए। संघाईले केबलकार निर्माणका लागि सरकारबाट अनुमति लिन फुङलिङ नगरपालिका, तत्कालीन फुरुम्बु, फावाखोला गाविस र पाथीभरा क्षेत्रका ६ वटा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षबाट सिफारिस लिएका थियो ।

फुङलिङ नगरपालिकाको कार्यपालिका बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ ९६० अनुसार २०७५ जेठ १३ पाथीभरा माता दर्शन केबलकार प्रालिलाई निर्माणको अनुमति दियो । आफूले दुई रोपनी जग्गा राखेर बाँकी बिक्री गरेको बताएका ध्रुवनारायण कम्पनी यती समूहको स्वामित्वमा गएपछि बाहिरिए।

यती समूहले अहिले आईएमई ग्रुपलाई कम्पनी बिक्री गरेको छ । उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका चन्द्र ढकालले यसको नेतृत्व गरेका छन् । उनले यसअघिका विवादका विषयमा आफू जानकार नभएको र सातै प्रदेशमा एकरएक वटा केबलकार बनाउने आफ्नो योजनाअनुसार पाथीभरामा पनि केबलकार स्थापना गर्न लागेको बताए । २.७५ किमी लामो दूरीको केबलकार निर्माणका लागि ३ अर्ब रुपैयाँ लगानी गर्ने योजना रहेको उनले बताए । ’सबै प्रक्रिया पूरा गरेर दुई वर्षअघि हामीले लिएका हौं,’ उनले भने, ’अहिले निर्माणका बेला अवरोध हुनु दुःखद हो । यो विषयले राष्ट्रिय रूप लिइसकेको छ । राष्ट्रियस्तरबाटै समाधान गरेर हामीलाई लगानीको वातावरण बनाइदिनुपर्छ ।’

विवादको कारण
पाथीभराको गुरुयोजना बनाउन पुरातत्त्व विभागको टोली बोलाइएको थियो। उक्त टोलीमा आएका कर्मचारीले मूर्तिहरू राखेर सांस्कृतिक अतिक्रमण भएको र पाथीभरालाई प्राकृतिक रूपमै राख्न यसलाई हटाउनुपर्ने अभिव्यक्ति दिएका थियो । त्यही अभिव्यक्तिपछि पहिला यसको नाम मुक्कुमलुङ रहेको र अतिक्रमण भएर पाथीभरा नाम राखिएको आवाज उठ्न थाल्यो। अहिले श्री लिम्बूको नेतृत्वमा मुक्कुमलुङ संरक्षण समिति, खगेन्द्र फेम्बुको नेतृत्वमा पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति रहेको छ ।

पाथीभरामा केबलकार बनाउने अनुमति फुङलिङका यसअघिका नगर प्रमुख छत्रपति प्याकुरेल नेतृत्वको कार्यपालिकाले दिएको हो । उनले कार्यविधि बनाएर १२ लाख राजस्व लिएका थियो । पहिलो चार वर्षमा निर्माणको काम सम्पन्न गर्नुपर्ने, त्यसपछिका २० वर्षसम्म सञ्चालन गर्न पाउने र त्यसपछि २० वर्ष थप गर्न सकिने उल्लेख छ । उनले अनुमति दिएको चार वर्षमा कम्पनीले काम सुरु गर्नुभएन । पाथीभरा र कञ्चनजंघा संरक्षण क्षेत्रको सीमा विवादमा केबलकार जोडिएको थियो । प्याकुरेलकै पालामा निर्माण अवधि सकिएपछि समय थप भएन । नगर प्रमुखमा अमिर मादेन निर्वाचित भएपछि म्याद थप गर्नुभयो । फेम्बुका अनुसार म्याद थप नगरिदिन उनीहरूले नगर प्रमुख म

ादेनलाई पटकपटक अनुरोध गरेका थिए । मादेन आन्दोलनरत पक्ष आफ्नो मागबाट फिर्ता हुनुको विकल्प नभएको दाबी गर्छन् । ’मैले निर्वाचन अघि र पछि पनि केबलकार निर्माण, सदरमुकामको सडक चौडा, खुला मैदान बनाउने प्रतिबद्धता जनाएको थिएँ, अहिले आन्दोलन गरिरहेकाहरूसँग पनि त्यही भनेर भोट मागेको हुँ,’ भने, ’निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्न लागेको छु, जसले विरोध गरे पनि बनाएरै छोड्छौं। ’

प्रतिनिधिसभा सदस्य योगेश भट्टराई भने केबलकार निर्माणपछि वार्षिक १० लाखसम्म पर्यटक ताप्लेजुङ पुग्ने भएकाले केबलकार आवश्यक भएको तर्क गर्छन् । ’अहिले तीन लाखको हाराहारी पर्यटक ताप्लेजुङ जाने गरेका छन्, केबलकार बनेपछि त्यो संख्या दोब्बररतेब्बरले बढ्छ, त्यसले आजआर्जन र रोजगारी बढाउँछ।

’मुक्कुमलुङ’ लाई अतिक्रमण गरेर ’पाथीभरा’ बनाइएकाले ’मुक्कुमलुङ’ नै राख्न आन्दोलनरत पक्षले सरकारलाई पटकपटक ज्ञापनपत्र पनि बुझायो । मुक्कुमलुङमा सांस्कृतिक अतिक्रमण गरिएको र लिम्बू समुदायको मुन्धुमीस्थल भएको उनीहरूको दाबी छ । आन्दोलनरत समूहको एक मात्र माग मुन्धुमीस्थलमा कुनै पनि हालतमा ठूला पूर्वाधार बनाउन नदिने रहेको छ । पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समितिका अध्यक्ष फेम्बुले भने, ’सुकेटारदेखि माथिल्लो फेदीसम्म बनाए पनि हुन्छ, जिल्लाका अरू स्थानमा बनाए पनि सहयोग गर्छौं तर कान्छीथानभन्दा माथिचाहिँ ज्यान गए पनि छोड्दैनौं ।’ यो विवादमा अहिले ‘नो कोशी’ आन्दोलन पनि सामेल छ । पहिचान पक्षधर नेता अहिले मुक्कुमलुङ संरक्षण अभियानमा जोडिएका छन्। गत माघ १२ मा बलुडाँडामा गोली चलेपछि किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष, लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव लगायतका नेता–कार्यकर्ता ताप्लेजुङ केन्द्रित भएका छन् ।

पाथीभरामा केवलकार निर्माणको विषयमा बिबाद हुँदा गत शनिबार फुङलिङ नगरपालिका–११ बलुडाँडामा केवलकार निर्माणको विरोध गर्दै मुक्कुम्लुङ बचाउ संघर्ष समितिले गरेको प्रदर्शनमा झडप हुँदा प्रहरीको गोली लागि चार जना घाइते भएका थिए । प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती घाइते भएका हुन् । यमाबहादुर लिम्बू र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो । प्रहरीले गोली चलाएपछि आन्दोलनले थप नयाँ रुप लिएको छ ।

नो केबलकार समुहरुले गत मंगलबारदेखि मेची राजमार्ग, तमोर कोरिडोर, तथा ताप्लेजुङमा सदरमुकाम आउँने सडकहरुमा यातायात बन्द गरेको छ ।

आन्दोलनरत पक्षले थप माघ २० र २१ गते नौ जिल्ला लिम्बुवान बन्दको घोषणा समेत गरेको छन् । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा लगायतको जिल्ला बन्दको घोषणा गरेको हो । २० र २१ गतेसम्म आन्दोनरत पक्षको मागको सम्बोधन नगरे २२ गतेदेखि अनिश्चितकालीन लिम्बुवान आमहड्ताल घोषणा गरिने जनाइएको छ ।