काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारको निरीहताको कारण त्रिभुवन विश्वविद्यालय तालाबन्दीको सिकार भएको छ।
करिब एक साताअघि त्रिविका स्ववियु सचिव सिद्धान्त भट्टसँग ३६ बुँदे सहमति गरेको साता दिन पनि बित्न नपाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र निकटका विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) सहित पाँच विद्यार्थी संगठनले मंगलबार राति रेक्टर प्राडा खड्ग केसीको कार्यकक्षको गेटमा धर्ना बसेका छन्।
धर्ना बस्ने संगठनहरूमा अनेरास्ववियु, अखिल (छैटौँ), अखिल (समाजवादी) र नेपाल समाजवादी विद्यार्थी युनियन छन्। धर्नाको कारण रेक्टर कार्यालयबाट हुने काम प्रभावित भएको छ। कहिले उपकुलपति त कहिले रेक्टर, प्रिन्सिपल कार्यालय र विभिन्न संकायमा लगाएको ताला र धर्नाको कारण पठनपाठनमा गम्भीर असर परेको छ।
विद्यार्थीले मात्र होइन मंगलबार त्रिवि प्राध्यापक संघले समेत २१ गतेबाट उपकुलपति कार्यालयमा दैनिक १ घण्टा अनिश्चितकालीन धर्ना कार्यक्रम सार्वजनिक गरेका छन्। यसअघि गएको २७ गतेदेखि कर्मचारीले पनि विविध माग राख्दै १९ गतेसम्मका लागि दैनिक १ घण्टा धर्ना जारी राखेका छन्। त्रिवि प्राध्यापक संघले यही वैशाख २६ गते र बाँकी मंगलवार थप गरिएकासहित १० सूत्रीय माग अघि बढाएका छन्।
त्रिवि प्राध्यापक संघका अध्यक्ष प्राडा वसन्त ढकालले लामो समयदेखि राखेको मागप्रति बेवास्ता गरेको कारण अन्दोलन गर्नुपरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीले रहरले आन्दोलन गरेका होइनौं पदाधिकारीले बाध्य बनाएर आन्दोलन गर्नुपरेको हो।’
संघले शिक्षक सहायक पदमा कार्यरत र स्थायी हुन छुटेका पूर्ववत् अवस्थामा विशेष आन्तरिक प्रतिस्पर्धा गर्नुपर्ने, पेन्सनको व्यवस्था गर्नुपर्ने, एकपटकका लागि उपप्राध्यापकलाई सहप्राध्यापक र सहप्राध्यापकलाई प्राध्यापकमा बढुवा गर्नुपर्ने, आंशिक व्यवस्थापनका शिक्षकलाई दरबन्दीमा लैजानुपर्ने, अवकासको हद ६५ वर्ष बनाउनुपर्ने, प्राध्यापकको तलब सार्क स्तरको हुनुपर्नेलगायत छन्।
माग पूरा नभए २१ गते आइतबारबाट दिउँसो २ देखि ३ बजेसम्म दैनिक धर्ना दिने कार्यक्रम रहेको जनाएको छ । संघका कार्यवाहक महासचिव अजयकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । त्रिवि कर्मचारी संघका अध्यक्ष छत्रबहादुर कार्कीले कर्मचारीहरूको माग पूरा नगरेका कारण निरन्तर आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले एक घण्टा धर्ना गरेका छौं, सुनुवाइ नभए कडा आन्दोलन गर्नेछौं।’
यसअघि अखिल क्रान्तिकारीसहित ५ विद्यार्थी संगठनले केन्द्रीय क्याम्पस प्रमुख (प्रिन्सिपल) को कार्यासहित ४ निकायमा तालाबन्दी गरेको छ । तालाबन्दीपछि प्रिन्सिपल ध्यानेन्द्र राई गत सोमबारदेखि कार्यालय प्रवेश गर्नुभएको छैन । संयुक्त विद्यार्थी संगठनले प्रिन्सिपल कार्यालय, सामान्य प्रशासन महाशाखा र भौतिक विज्ञान विभागमा तालाबन्दी गरेका हुन्।
प्रिन्सिपलको कार्यकक्षमा तालाबन्दी गर्नुको मुख्य कारण एनपिएलमा त्रिविको जग्गा पार्किङको लागि भाडामा दिएको विषय मुख्य रहेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको एनपीएलको पहिलो दिन स्ववियुका नाममा सवारी साधनबाट पार्किङ शुल्क उठाइएको थियो। उठेको शुल्क सार्वजनिक र छानबिन गर्नुपर्ने माग विद्यार्थी संगठनहरूले राख्दै तालाबन्द गरेका हुन्।