चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुई गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुईवटा गैँडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार मङ्सिर २८ गते बुधबार र आज दुईवटा गैँडा मृतावस्थामा फेला परेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ५ः५५ बजे राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्टअन्तर्गत गुन्द्रहीढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैँडा मृतावस्थामा फेला परेको छ । एकापसमा जुधेर १५ वर्षीय गैँडा मरेको अनुमान गरिएको उहाँले बताउनुभयो । गैँडाको खाग, खुर सुरक्षित रहेको उहाँले जानकारी दिए ।

यस्तै बुधबार सोही क्षेत्रको कुजौली रेञ्जरपोष्टअन्तर्गत नारायणी नदी किनामा छ महिनाको केटो (भाले गैँडा) मृतावस्थामा भेटिएको छ । बुधबार बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले गैँडा मृतावस्थामा फेला पारेको उहाँले जानकारी दिए । बाघको आक्रमणमा परी मरेको अनुमान गरिएको छ । सो केटाको खाग नपलाएको र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आव २०७९/८० मा पाँचवटा गैँडा मरेका छन् ।

Comments are closed.