युक्रेन युद्ध: आफ्ना फौजलाई सेभेरोडोनेट्स्कबाट पछि हट्न किएभको आदेश

युक्रेनी फौजलाई पूर्वी शहर सेभेरोडोनेट्स्कबाट पछाडि हट्ने आदेश दिइएको त्यस क्षेत्रका मुख्य अधिकारीहरूले बताएका छन्।

रुसी फौजले लुहान्स्क क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिन खोजिरहँदा उक्त रणनीतिक महत्त्वको शहरमा हप्तौँदेखि बमबारी र लडाइँ भएका छन्।

यस युक्रेनी फिर्ती किन पनि महत्त्वपूर्ण छ भने यससँगै अब लिसिचान्स्क शहरबाहेक लुहान्स्कको सबै भाग रुसी नियन्त्रणमा पुग्नेछ।

आदेश

रुसी फौजले पछिल्ला दिनमा सेभेरोडोनेत्स्कलाई लगभग घेरा हालिसकेका  थिए र उनीहरूको निशानामा त्यसछेउको लिसिचान्स्क शहर समेत छ।

लुहान्स्क क्षेत्रका प्रमुख सेर्हेई हाइडाईले युक्रेनी टेलिभिजनमा बोल्दै “महिनौँदेखि लगातार बमबारी भइरहेको ठाउँमा अडिग हुनुको कुनै अर्थ नरहेको” बताएका छन्।

गभर्नर हाइडाईले भने, “उनीहरूलाई नयाँ ठाउँमा आड लिन र त्यहाँबाट लडाइँ जारी राख्न निर्देशन दिइएको छ।”

राष्ट्रपति पुटिनको खास प्राथमिकतामा रहेको लुहान्स्क पूर्वी युक्रेनमा मुख्य रूपमा रुसी भाषा बोलिने क्षेत्र हो।

त्यो कस्तो क्षेत्र हो?

डोनेट्स्कसँग लुहान्स्क मिल्दा त्यस पूरै भेगलाई डोनबास भनिन्छ जुन एउटा ठूलो औद्योगिक क्षेत्र पनि हो।

सन् २०१४ यता त्यो रुसी साथ पाएको पृथकतावादी अभियानको केन्द्रमा छ।

युक्रेन-रुस युद्ध: वर्षौँसम्म युद्ध चल्न सक्ने नेटोका महासचिवको भनाइ

युक्रेनमाथि आक्रमण सुरु गरेपछि पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले “बहुलट्ठी र विवेकहीन” को सङ्ज्ञा दिएका छन्।

युक्रेन युद्ध: रुसी विदेशमन्त्री भन्छन्- ‘हामी को हौँ भनी देखाउँन लाज मान्दैनौँ’

भ्लादिमिर पुटिनले गलत रूपले डोनबासमा रुसी भाषीहरूलाई नरसंहार गर्ने गरिएको दाबी गर्ने गर्छन्।

त्यसैलाई उनले युक्रेन अतिक्रमणपछाडिको एउटा मुख्य कारण बताउने गरेका छन्।

क्षति

त्यसैगरी युक्रेनले समेत मस्कोलाई आफ्ना नागरिकहरूमाथि जथाभावी बमबारी र गोलाबारी गरेर नरसंहार मच्चाएको आरोप लगाएको छ।

 

गभर्नर हाइडाईले यतिखेर सेभेरोडोनेट्स्क शहरको पूर्वाधार पूर्ण रूपले ध्वस्त भएको बताउँदै ९० प्रतिशत घरमा बमबारी भएको र तीमध्ये ८० प्रतिशतमा गम्भीर क्षति पुगेको बताएका छन्।

युद्ध सुरु हुनुअघि उक्त शहरको जनसङ्ख्या १ लाख थियो।

त्यहाँ अझै सयौँ मानिसहरू एउटा विशाल रासायनिक कारखानामा आश्रय लिइरहेका छन्।