काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले विभिन्न नाममा परिवर्तनका उपलब्धिलाई उल्ट्याउन षडयन्त्र भइरहेको बताउनुभएको छ ।
समाजवादी मोर्चाले धनगढीमा सोमबार आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यक्रममा बोल्दै प्रचण्डले सो षड्यन्त्रलाई परास्त गर्न जरुरी रहेको बताउनुभयो । अहिलेका घटना ठुलो डिजाइनका साथ भएका उहाँको भनाइ छ । ‘यी घटना यतिकै भएका होइनन्, यसमा प्रतिगामीको ठुलो डिजाइन छ, यसमा हामी सबै गम्भीर हुँदै परिवर्तनका उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता गर्नु छ’, उहाँले भन्नुभयो ।
अहिले अराजकताको माध्यमबाट देशमा प्रतिगमनले टाउको उठाउने प्रयत्न गरेको प्रचण्डको भनाइ छ । देशमा अराजकता सिर्जना गरी प्रतिगमनले टाउको उठाएका बेलामा जनतासँगको सम्बन्ध बलियो बनाउँदै सरकार, सदन र सडकका तीनवटै मोर्चाबाट अगाडि जान आवश्यक रहेको उहाँले बताउनुभयो ।
देशमा राजनीतिक तह र सिस्टममा परिवर्तन भए पनि कर्मचारी तन्त्र, संरचना, नियम कानुन पुरानै भएको उहाँले सुनाउनुभयो । काम गर्ने तरिका पनि पुरानै हुँदा केही जटिलता देखिएको उहाँको भनाइ छ ।
कोशीमा गठबन्धनमा देखिएको समस्या समाधान गर्न कांग्रेसका सभापति शेरबहादुर देउवा, डा शेखर कोइराला र आफूले गठबन्धनलाई कमजोर पार्न दिइने छैन भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको उहाँले बताउनुभयो । ‘एमालेले गरेको चलखेल त्यहीँ रोकिएको भनेको त फेरि अर्को चलखेल भयो, हामीले कांग्रेसको एक जनाको मन्त्री बनाउने भनेकामा एमालेको मन्त्री थपियो, यसलाई सच्याउँछौँ, पाँच वर्ष यो गठबन्धन जान्छ’, उहाँले भन्नुभयो ।
प्रतिक्रान्तिका विरुद्ध ठुला सहरहरूमा जनपरिचालन गर्नु पर्ने प्रचण्डले बताउनुभयो । लाखौँको सङ्ख्यामा जनता सडकमा उतारेर प्रतिक्रान्तिकारीलाई चुनौती दिनु पर्ने उहाँको भनाइ छ ।