जग्गा सट्टापट्टाबारे अनावश्यक भ्रम र प्रचार गरिएको छ: गिरीबन्धु टी-स्टेट प्रालि

काठमाडौं : झापास्थित गिरीबन्धु टी-स्टेट प्रालिले चिया बगान सार्नेबारे स्पष्टीकरण दिएको छ। जग्गा सट्टापट्टाबारे अनावश्यक भ्रम र प्रचार गरिएको भन्दै प्रालिले आज पत्रकार सम्मेलनमार्फत सबै दलहरुको सहमतिमा बगान सार्ने निर्णय भएको बताएको हो।

बिर्तामोड बजारको तीव्र विकास र विस्तार, चिया बगान क्षेत्रमा बढ्दै गएको फोहोर मैला, चियाका बुट्टाहरु काटी दाउराको रुपमा लैजाने गरेको, आत्मा हत्याको प्रकरण हुने गरेकोजस्ता समस्याका कारण जनताको दबाब र सबै दलको सहमतिमा बगान सार्न खोजिएको जनाएको छ।

यसबाहेक उसले २०३० सालमा मात्रै पूर्व–पश्चिम राजमार्ग निर्माण सम्पन्न भएको र गिरीबन्धु २०२० मै स्थापित भएकाले गिरी–बन्धु परिवारको निजी जग्गामा चिया बगानका लागि प्रचलित कानुनबमोजिम हदबन्दी पाएको स्पष्ट पारेको छ।

कम्पनी स्थापना हुँदा पूर्व–पश्चिम राजमार्गको अवधारणासमेत नबनेको अवस्थामा अहिले महँगो जग्गा बेचेर सस्ता जग्गा खरिद गर्ने चलखेल भएको भन्दै गलत प्रचारवाजी नगर्न अनुरोध गरेको छ।