विभिन्न कार्यक्रम गरी आज सातौं सामाजिक सुरक्षा दिवस मनाइँदै

काठमाडौं । आज सातौं सामाजिक सुरक्षा दिवस, विभिन्न कार्यक्रम गरी मंगलबार मनाइँदैछ ।
सरकारले ०७५ सालदेखि हरेक वर्ष मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाउँदै आएकाे छ । साकाजिक सुरक्षा काेष ०७५ मंसिर ११ गते स्थापना भएको हाे ।

केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएका बेला ०७५ मंसिर ११ गते सामाजिक सुरक्षा काेषकाे औपचारिक सुभारम्भ गर्दै हरेक वर्ष मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने घोषणा गर्नुभएकाे थियाे ।

साताैं सामाजिक सुरक्षा दिवस मनाइँरहँदा केपी ओली अहिले प्रधानमन्त्री हुनुहन्छ । दिवसका अवसरमा काेषले आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गर्दैछ । साे कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बाेधन गर्नुहुने काेषले जनाएकाे छ । कार्यक्रममा काेषले टिकटक प्रतियाेगिताका बिजेता घाेषणा र पुरस्कृत गर्नेछ । जसमा प्रथम हुनेले ५० हजार, दाेस्राे हुनेले ४० हजार र तेस्राे हुनेले ३० हजार पाउनेछन् ।
सामाजिक सुरक्षा कोषले विभिन्न योजना अन्तर्गत कर्जा, स्वास्थ्य बीमा र निवृत्तिभरणलगायत सुविधा दिँदै आएको छ।

कोषका अनुसार हाल काेषमा १९ हजार ७६९ रोजगारदाता र १७ लाख ९७ हजार ६४० योगदानकर्ता कोषमा आबद्ध भएका छन् । औपचारिकतर्फ ५ लाख ४३ हजार ४९१ जना छन् । वैदेशिक रोजगारीतर्फ १२ लाख ५३ हजार ६१५ छन् । स्वरोजगारमा २२७ जना र अनौपचारिकतर्फ ३०७ जना आबद्ध छन् ।
कोषमा अहिलेसम्म ६८ अर्ब ६८ करोड रुपैयाँ संकलन भएको छ । कोषले अहिल ५८७ योगदानकर्ताका आश्रित परिवारलाई ४ हजारदेखि १ लाख ५७ हजार ५०० रुपैयाँसम्म अहिले मासिक निवृत्तिभरण दिँदै आएको छ । सन्तति हुनेले शैक्षिक वृत्ति अन्तर्गत अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत हुन आउने रकम २१ वर्ष नपुगेसम्म प्राप्त गर्ने व्यवस्था छ ।
अहिले सन्तति शैक्षिकवृत्ति २७८ मृतकका ३६३ बालबालिकाले प्राप्त गर्दै आएको कोषले जनाएको छ । कानुनअनुसार मृतक विवाहित नभएको खण्डमा आश्रित बाबुआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनभर पाउने व्यवस्था छ । आश्रित परिवार योजना अन्तर्गत हालसम्म १८ करोड ५५ लाख पाँच हजार ९६८ रुपियाँ निवृत्तिभरणका रूपमा उपलब्ध गराइएको छ ।
काेषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै बेला विभिन्न कारणले मृत्यु भएका योगदानकर्ताका आश्रित परिवारलाई मासिक १ लाख ५७ हजार ५०० रुपैयाँसम्म निवृत्तिभरण उपलब्ध गराउँदै आएकाे छ ।