‘हेम्जाकोट’मा विनोदको कमिक टाइमिङ राम्रो

अभिनयमा अब्बल हुँदाहुँदै पनि ओझेलमा परेका कलाकार हुन्, विनोद न्यौपाने । प्रायः मेकर स्टारको पछाडि दौडिँदा उनी जस्ता प्रतिभावान कलाकारहरु भने कामको लागि भौतारिनु पर्ने अवस्था छ । दर्शकको रोजाईमा पनि उनी जस्ता कलाकारको फिल्म पर्दैनन् । विनोदले अहिलेसम्म आफ्नो अभिनयमा खोट दिने ठाउँ छाडेका छैनन् । तर, करिअरले फड्को मार्न पनि सकेको छैन ।

उनै, विनोदको मख्य भूमिका रहेको नयाँ फिल्म ‘वेलकम टू हेम्जाकोट’ यही शुक्रबारबाट प्रदर्शन हुँदैछ । मंगलबार काठमाडौंको एफक्यूब हलमा फिल्मको प्रिमियर आयोजना गरिएको थियो, जहाँ विनोदकै अभिनयको प्रशंसा भयो । हेम्जाकोटको जनजीवन, वैदेशिक रोजगारीले निम्त्याएको समस्या, बेरोजगारी, जातीय विभेदलगायतको पाटोलाई फिल्मले दृश्यभाषामार्फत् देखाएको छ ।

फिल्ममा विनोद बेरोजगारी युवाको भूमिकामा छन् । तर, उसलाई भविष्यको चिन्ता छैन । मनमौजी छन् । दिनभर गाउँ डुलेर केटी जिस्काउनुबाहेक उसको अरु काम छैन । घरमा बस्दा पिताको गाली मात्र सुन्नुपर्छ । एक दिन उसलाई विदेश जाने भूत सवार हुन्छ । त्यसपछि उसको जीवनमा आउने उतार-चढावमा नै फिल्म केन्द्रित छ । फिल्म कथादेखि प्रस्तुतीकरणसम्ममा चुकेको छ ।
तर, विनोदको कमिक टाइमिङ, संवाद र अभिनय राम्रो छ । संवाद सशक्त नभए पनि उनको प्रस्तुत गर्ने शैली गजब छ । उनको हाउभाउले नै हाँसो पैदा गर्छ । पटकथा र प्रस्तुतीकरणको कमजोरीको असर भने उनको चरित्रमा नराम्रोसँग परेको छ । जसले गर्दा उनले गर्ने प्रायः गतिविधि नाटकीय लाग्छ । यद्यपि, उनले काम इमानदार गरेका छन् । कमेडी भूमिकामा उनी जम्न सक्छन् ।

प्रिमियरमा मिलेको सकारात्मक प्रतिक्रियाले उत्साहित देखिएका विनोद आफ्नो सिनमा हाँसो सुन्दा खुसी लागेको बताए । ‘कमेडी सिनमा एकदमै हाँसो सुनिरहेको थिएँ । सेन्टिमेन्ट सिनमा सन्नाटा छाएको थियो । अब दर्शक प्रतिक्रिया सुन्न आतुर छौं,’ उनले भने । आफ्नो फिल्म हेर्दा धेरै ठाउँमा कमजोरी देख्ने गरेको भएता पनि दर्शकको आँखाले राम्रो देख्दा खुसी लाग्ने विनोदको भनाई छ ।

Comments are closed.