इमरान खानको गिरफ्तारीपछि पाकिस्तानमा हिंस्रक प्रदर्शन

इमरान खान पक्राउ परेपछि पाकिस्तानमा उनका समर्थकहरूको हिंसात्मक प्रदर्शन बढ्दै गएको छ ।मङ्गलवार दिउँसोदेखि नै पाकिस्तानका विभिन्न भागबाट हिंसाको खबर आउन थालेका छन् र राति अबेरसम्म स्थिति झन् गम्भीर बन्यो ।इमरान खानका समर्थक र तेहरिक–ए–इन्साफका कार्यकर्ताहरू पनि रावलपिंडीस्थित सेनाको मुख्यालयमा प्रवेश गरेका थिए ।

पाकिस्तान सरकारले इस्लामावादस्थित पुलिस लाइनको मुख्यालयलाई सब–जेल बनाएको छ र इमरान खानलाई रातारात त्यहाँ सारेको छ । सरकारबाट पीटीआईलाई प्राप्त सूचना अनुसार नेशनल एकाउन्टेबिलिटी ब्युरो अर्थात् न्याबको अदालत गेस्ट हाउसमा नै कडा सुरक्षाबीच सञ्चालन हुनेछ । यद्यपि मिडियाबाट यसको आधिकारिक पुष्टि भने भएको छैन ।

– न्याबले इमरान खानलाई १४ दिनको हिरासत माग्न सक्छ ।

– इस्लामावाद उच्च अदालतले गए राति इमरान खानको गिरफ्तारीलाई वैधानिक घोषणा गरेको छ । तेहरिक–ए–इन्साफका नेता फवाद चौधरीले उच्च अदालतको फैसलालाई आश्चर्यजनक भनेका छन् । उनले इमरान खानको जमानतमा कुनै निर्णय नगरी गरिएको पक्राउ गैर कानुनी भएको र पीटीआईले यस निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिने बताए ।

– लाहोरमा आक्रोशित पिटिआई प्रदर्शनकारीहरूले लिबर्टी चोकमा रहेको अस्करी टावरमा आगजनी गरेका छन् । सोही भवनमा अडी कारको शोरुम पनि प्रदर्शनकारीले कब्जामा लिएर गाडीमा आगजनी गरेका थिए ।

– पिटिआई नेतृत्वले आफ्नो आपत्कालीन बैठकमा इमरान खानको अवैध गिरफ्तारीको निन्दा गरेको छ र उनको रिहाइ नभएसम्म ‘शान्तिपूर्ण’ विरोध जारी राख्ने निर्णय गरेको छ ।

– देशको सुरक्षा व्यवस्था उच्च सतर्कतामा रहनेछ ।

– मोबाइल ब्रोडब्यान्ड र सोसल मिडिया प्लेटफर्मलाई देशमा सस्पेन्ड गरिएको छ ।

 

Comments are closed.