‘गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्‍याउन लागेका छौँ’ : मन्त्री पौडेल

डुम्रे (तनहुँ), स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गुणस्तरीय उपचारमा सबैको पहुँच पु¥याउन सरकार लागेको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले आज बिपी स्मृति भवन दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पैसा अभावले उपचार नपाउने अवस्थाको अन्त्य गर्दै सबैमा उपचारको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध भएको बताउनुभयो ।

उहाँले स्वास्थ्य बिमाको पहुँच र रकमको वृद्धि गरी उपचारमा सहजता कायम गरिने समेत उल्लेख गर्नुभयो । बिरामीको जीवन रक्षामा मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनका कसैले पनि पैसा अभावमा उपचार नरोकिने पौडेलको भनाइ थियो ।

स्वास्थ्य बिमालाई रु एक लाखबाट वृद्धि गरी रु पाँच लाख पु¥याउन स्रोत व्यवस्थापनमा सरकार लागेको मन्त्री पौडेलले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बिमालाई रु पाँच लाख पु¥याउँछौँ मात्र भनेका होइनौँ, कसरी स्रोत जम्मा गर्ने भन्ने विषयको गृहकार्य गरिरहेका छौँ, मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याउने प्रक्रियामा अगाडि बढिसकेका छौँ ।”

निजी संस्था र नागरिकबाट उठ्ने करको केही रकम बिमा कोषमा ल्याउने तयारी भएको उहाँले बताउनुभयो । जटिल रोग लागेका बिरामीलाई रु एक लाखले उपचार सम्भव हुँदैन, जसले गर्दा बिमाको रकम वृद्धि गरी रु पाँच लाख पु¥याउने योजना तयार भएको उहाँको भनाइ थियो । स्वास्थ्य बिमाको स्रोत व्यवस्थापनमा नागरिक, सरकार, विभिन्न सङ्घसंस्थाको योगदानलाई सुनिश्चित हुने गरी कार्यक्रम ल्याइने पौडेलले बताउनुभयो ।

नागरिकको आफ्नो तलबबाट दुई प्रतिशत रकम बिमा कोषमा जाने व्यवस्था गर्न लागेको उहाँले जानकारी दिनुभयो । नेपाली नागरिकले तिर्ने करको शून्य दशमलव पाँच प्रतिशत रकम बिमा कोषमा जाने व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बिमाको प्रतिवेदन आइसकेको छ, कार्यान्वयनमा लैजान तयारी गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले चौध वर्ष मुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क हुने उपचार कार्यान्वयनमा आइसकेको उदाहरण दिनुहुँदै उहाँले सरकार स्वास्थ्य सेवाप्रति गम्भीर रहेको बताउनुभयो । क्यान्सर उपचार सेवा देशको सातै प्रदेशमा सुरु भइसकेको, मतिष्काघातका बिरामीलाई निःशुल्क औषधिको व्यवस्थापन गर्न लागिएको पौडेलले बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले राष्ट्रिय गौरवलाई समेट्ने गरी नयाँ परियोजना ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले तनहुँ जलविद्युत् र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रबाहेक अन्य नयाँ परियोजना ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “तनहुँको पहिचान हुनेगरी कुनै पनि योजना छैनन्, पहिचानसहित परियोजना ल्याउनुपर्ने अवस्था छ, राष्ट्रिय गौरवको परियोजना ल्याउन र समेट्ने गरी नयाँ परियोजना ल्याउनुमा यहाँका राजनीतिक दलले पहल गर्नुपर्ने हुन्छ, यसतर्फ ध्यान दिनुहोस् ।”

Comments (0)
Add Comment