बेदाग भएर सरकारबाट बाहिरियौँ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सरकारबाट बेदाग निस्किएको दाबी गरेका छन्।

कम्युनिष्ट नेता स्व.नरबहादुर कर्माचार्यको स्मृति दिवसमा बुधबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा प्रचण्डले भ्रष्टाचार र अनियमितताका कुनै दाग नलागी सरकारबाट बाहिरिएको प्रतिक्रिया दिए। ‘हामी सरकारबाट बेदाग निस्किएका छौँ। न ओम्नी, न त गिरिबन्धु’, उनले भने, ‘कतैबाट पनि दाग लागेको छैन।’
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको गठबन्धनले संविधान मिच्ने र परिवर्तन उल्ट्याउने प्रयास गर्ने भन्दै सचेत रहनुपर्ने बताए। ‘उपलब्धि उल्ट्याउने तयारी यो गठबन्धनले गरेको छ’, उनले भने, ‘अमूर्तरुपले त्यही भनेको पनि छ । विगतको घटनाक्रम पनि संविधान मिच्ने र परिवर्तन उल्ट्याउने नै छ। त्यसैले हामी सचेत रहनैपर्छ ।’

प्रचण्डले अब जनतामा जाने भन्दै कांग्रेस-एमालेले प्रतिगामी कदम चाले सडक र संसदबाट प्रतिकार गर्ने बताए। कार्यक्रममा उनले नरबहादुर कर्माचार्य प्रतिष्ठानको त्रैमासिक वैचारिक जर्नल ‘अनुशीलन’को लोकार्पण गरे।