सैन्य अखडा राख्न र छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन दिँदैनौं : केपी ओली

काठमाडौं : सत्तारुढ प्रमुख घटक नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीन दुवै छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने बताएका छन्। साथै उनले दुवै छिमेकीसँग असल सम्बन्ध कायम राख्ने र देशमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने पनि बताएका छन्।

नेकपा एमाले परराष्ट्र मामिला विभागको शुक्रबार काठमाडौंमा शुरु दुईदिने अभिमुखीकरणको उद्घाटन गर्दै उनले छिमेकी भारत र चीनसँग असल छिमेकीको सम्बन्ध कायम राख्न चाहेको पटकपटक दोहोर्‍याए।

राष्ट्रको अहित हुने, मुलुकको सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुने भएकाले कुनै पनि प्रकारको सैन्य गतिविधि नेपालमा हुन दिन नहुनेमा उनको जोड थियो।

अध्यक्ष ओलीले आफ्नो पार्टीले पारस्परिक लाभ र पारस्परिक सम्मानको आधारमा परराष्ट्र सम्बन्ध सुदृढ बनाउन चाहेको समेत स्पष्ट पारे। उनले भने, ‘हामीले पहिलो कुरा दुईवटा छिमेकीसँग कार्ड खेल्ने होइन भनेर हामीेले भनेका छौं। एउटाको कार्ड अर्कातिर, अर्कोको कार्ड अर्कातिर होइन। सन्तुलित, विश्वसनीय, भरपर्दो, विश्वसनीय र जे भनिन्छ त्यही गर्ने‚ एउटाको हित र अर्कोको अहित नगर्ने।’

उनले नेपाल आफ्ना छिमेकीहरूका निम्ति असल छिमेकी हुन चाहेको उल्लेख गरे।

‘छिमेकीहरूलाई सहयोग पुर्‍याएर, उनीहरूका जायज चासो, चिन्ता, सरोकारलाई समेत सम्बोधन गरेर यथोचित ढंगले हामी अगाडि जान्छौं। हाम्रो भूमि कसैकाविरुद्ध प्रयोग गर्न दिँदैनौं‚’ उनले भने‚ ‘मिलिटरिली हामी कतै संलग्न हुँदैनौं। हामी कसैको पनि मिलिटरिली बेस, कुनै पनि प्रकारका सैनिक गतिविधिहरू वा त्यस्ता अड्डाहरू हाम्रो देशमा राख्न दिँदैनौं। राख्यो भने हाम्रा सार्वभौमसत्तामाथिको अतिक्रमण हुन्छ। र, हामी सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रतामा कुनै कम्प्रमाइज गर्दैनौं। हामी पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा सम्बन्ध कायम गर्छौं। सबैसँग मित्रता, कसैसँग पनि छैन शत्रुता को नीतिबाट अगाडि बढछौं।’

रोजगारी प्रवर्द्धन गर्ने, उत्पादन वृद्धि गर्ने, उत्पादकत्व वृद्धि गर्ने जस्ता कुराहरूका लागि बाह्य लगानी बढाउन नेपालले ध्यान दिनुपर्ने उनको भनाइ थियो।

अध्यक्ष ओलीले सीमा समस्यालगायत विभिन्न समस्या समाधान हुने गरी परराष्ट्र नीति सञ्चालन गर्न लाग्नुपर्ने आवश्यकतासमेत औंल्याए। उनले भने, ‘हामीलाई देशभित्र शान्ति चाहिएको छ। हामीलाई विकास निम्ति अनुकूल वातावरण चाहिएको छ। हामीलाई विकासका प्रयासहरूलाई तीव्रताका साथ अगाडि बढाउनुपर्नेछ।’

अध्यक्ष ओलीले व्यापार सन्तुलनमा ल्याउन बाह्य लगानी भित्र्याउनुपर्ने भएकाले सोहीअनुसार परराष्ट्र नीति लिनुपर्ने समेत उल्लेख गरे। ‘अपर्याप्त भएका ठाउँमा बाह्य सहयोग अथवा लगानी आवश्यक पर्छ। हाम्रो व्यापार धेरै असन्तुलित छ। त्यसलाई सन्तुलित अवस्थातर्फ फर्काउन ध्यान दिनुपर्नेछ‚’ उनले भने‚ ’जे निर्यातयोग्य वस्तु हामीसँग छैनन् ‚ त्यसको उत्पादनमा हामीले जोड दिनुपर्नेछ आन्तरिक रुपमा।’

मुलुकमा विकासलाई तीव्रता दिएर अघि बढ्न सहज हुने परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो। ‘तनावरहित छिमेक सम्बन्ध‚ तनावरहित ढंगले राष्ट्रको हितको रक्षा, तनावरहित ढंगले राष्ट्रको सुरक्षा, सीमा सुरक्षा र हाम्रा प्राकृतिक स्रोतहरूको राष्ट्रिय प्राथमिकतामा प्रयोग गर्नुपर्ने कुराहरूलाई ध्यानमा राखेर हामीले परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेछ‚’ उनले भने।

 

Comments are closed.