लोकतान्त्रिक गणतन्त्रमाथि औंला ठड्याउने काम कतैबाट नहाेस्, त्याे औंला झारिदिन्छौँ : केपी ओली

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औंला ठडाउने काम नगर्न चेतावनी दिनुभएकाे छ ।

पार्टीकाे जनसंगठन समन्वय संयन्त्रले शनिबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयाेजना गरेकाे विशेष भेलालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले ठूलाे बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई औंला ठडाउने काम नगर्न चेतावनी दिनुभयाे ।

उहाँले भन्नुभयाे – ‘याे लोकतान्त्रिक गणतन्त्र अरुले बनाइदिएकाे मञ्चमा गएर नाचेकाे हाेइन हामीले, याे लोकतान्त्रिक गणतन्त्र हामीले बलिदानी दिएर, रगत बगाएर, ज्यान दिएर, जेलनेल खटेर, निर्वासित भएर, भूमिगत भएर, यातना सहेर, अंगभंग भएर, बेघरबार भएर, बेहालका अनेक स्थितिहरु झेलेर ल्याएको व्यवस्था हो यो, त्यसकारण लाेकतान्त्रिक गणतन्त्रलाई चलाउने र औंलाे ठडाउने काम कतैबाट नहाेस् म चेतावनीकाे भाषामा भन्न चाहान्छु ।’

लोकतान्त्रिक गणतन्त्रमाथि औंला ठड्याउनेको औंला तल झारिदिने चेतावनी पनि अध्यक्ष ओलीले दिनुभयाे । ‘लोकतन्त्रको विरुद्ध लडने कुरा त छोडिदिउँ, लोकतन्त्रको विरुद्ध औंलो ठड्यायो भने त्यो औंलो कसरी तल झार्नुपर्छ, शान्तिपूर्ण ढंगले झाछौँ हामी, झारिदिन्छौँ, त्यो कुरा सबैले बुझ्नुपर्छ’- उहाँले भन्नुभयाे ।

एमाले नभएकाे भए देशलाई उहिले बर्बाद पार्ने उहाँले बताउनुभयाे । केही मान्छेहरूले श्रीलंका भन्दा बढ्ता गर्ने धम्की दिएको भन्दै अध्यक्ष ओलीले एमाले हुँदाहुँदै त्यस्तो नसोच्न चेतावनी दिनुभयाे । उहाँले भन्नुभयाे – ‘श्रीलंकाकाे भन्दा बढ्ता गर्छाैं भन्ने गरेकाे सुनियाे, नेकपा एमाले यस देशमा नभएको भए धेरै चिज भन्दा बढ्ता गर्थे होला, तर यहाँ एमाले छ, यहाँ जनताकाे प्रतिनिधित्व गर्ने शक्ति छ, देशकै लोकप्रिय शक्ति छ, समृद्ध नेपाल सुखी नेपाली बनइछाड्ने संकल्प बाेकेर हिडेकाे शक्ति छ ।’

एमाले झिल्के नाराबाट चलेको र अरुको बुइ चढेर आएको पार्टी एमाले नभएकाे अध्यक्ष ओलीले प्रष्ट पार्नुभयाे । उहाँले भन्नुभयाे – ‘एमाले दलीय प्रणाली हुनाले खाेलाैं न त दल भनेर, खाेलाैं न त एउटा पार्टी भनेर एकछिनका झिल्के कुरा गरेर खाेलेकाे र चलाएकाे पार्टी होइन, झिल्के नाराकाे भरमा चलेको, कुनै गन्तव्य र बाटाे नभएकाे पार्टी होइन, अरुकाे बुइ चढेर आएकाे पार्टी हाेइन, याे यस धर्तीकाे रक्षाका निम्ति बनेकाे, यहाँका जनताको रक्षाका निम्ति बनेको पार्टी हो, यसले आफ्नाे काम कर्तव्य द‍‌‍ृढतासाथ गर्छ ।’

देशलाई समृद्धितर्फको बाटो देखाउने पार्टी पनि एमाले मात्रै भएकाे अध्यक्ष ‌ओलीले बताउनुभयाे । गठबन्धन सरकार बनेपछि भ्रष्टाचार माैलाएकाे र तस्करी बढेकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘यस्ताे तस्करी यसअघि कहिल्यै भएकाे थिएन, केरुङ नाकाबाट सुन पगाल्ने मेसिन खुरुखुरु आएका रहेछन्, त्यहाँ अनुमति खाेजिएन, किन चाहियाे त्यति धेरै मेसिन ? त्रिभुवन भन्सार कार्यालयमा साढे ९ किलाे सुन भेपमा पक्राउ पर्‍याे, अहिले २ किलाे सुन त्यहाँ छ, बाँकी सुन हरायाे रे, भित्रबाट चाबी लगाएकाे छ, के हाे तमासा ? लाज हुँदैन यिनीहरुलाई ।’

ब्रेक सु मा सय केजी छ भनेर पछि ६१-६० मा झार्ने काम सरकारले गरेकाे बताउँदै उहाँले प्रश्न गर्नुभयाे – ‘यसकाे जवाफ सरकारले दिन पर्दैन ? सिनामंगलमा किन पक्राउ पर्छ, भित्र किन पक्राउ पर्दैन ? पक्राउ परेपछि खाेदामसम्म जान किन नदिने ?’ सुन तस्करलाई भगाएर सरकारले ३ दिनपछि मात्र गाेदाममा छापा मारेकाे बताउनुभयाे । देशमा बेथिति बढ्दा बाैद्धिक वर्ग चुप बसिरहनु आश्चर्यजनक रहेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।

गठबन्धन सरकार बनेपछि ३५ क्विन्टल बढी तस्करीकाे सुन आएकाे कुरा बाहिरिएकाे भन्दै अध्यक्ष ओलीले त्याे कहाँ गयाे भन्ने कुराकाे जवाफ पनि सरकारले पनि दिनुपर्ने बताउनुभयाे ।

देशकाे अर्थतन्त्र खराब भएकाे र भन्सार पनि नउठेकाे उहाँले बताउनुभयाे । भन्सारमा पनि सरकारले सेटिङसाथ मान्छे खटाइरहेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।

गठबन्धन सरकारकाे बेथिति विरुद्ध अब एमाले चुप लागेर नबस्ने चेतावनी उहाँले दिनुभयाे । सरकारका गतिविधि विरुद्ध एमालेले युवालाई अघि सारेर प्रदर्शनमा उत्रिन लागेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।

एमालेले शान्तिपूर्ण ढंगले प्रतिक्रियाबादी शक्तिलाई पराजित गर्ने उहाँले बताउनुभयाे । प्रतिक्रियावादी शक्तिले व्यक्तिलाई उभ्याएर देशभरका मान्छे काठमाडौंमा उतार्ने कामलाई जोडतोडसाथ अघि बढाए पनि त्यसले काठमाडौंमा फोहोर पार्ने बाहेक अरु कुनै काम गर्न नसक्ने पनि अध्यक्ष ओलीले बताउनुभयाे ।

एमाले नभए के हुने रहेछ भन्ने कुरा याे डेढ-२ वर्षमा देखिएकाे उहाँले प्रष्ट पार्नुभयाे । एमालेले मिसन ०८४ भन्नुकाे अर्थ त्यस बेलासम्म चुप लागेर बस्छ भन्ने नठान्न समेत उहाँले चेतावनी दिनुभयाे ।

देशमा अहिले दुई खालका शक्ति रहेका भन्दै अध्यक्ष ओलीले राष्ट्रिय शक्तिकाे नेतृत्व एमालेले गरिरहेकाे र राष्ट्रिय शक्ति विपरीतकाे शक्तिकाे नेतृत्व गठबन्धनले गरिरहेकाे बताउनुभयाे । राष्ट्रिय शक्तिका विरुद्ध उत्रिनेहरु झण्डा ओडेर हिँड्ने भन्दै उहाँले राष्ट्रिय शक्तिहरु झण्डा बाेकेर उत्रिने बताउनुभयाे ।