किंगको शतकमा वेस्ट इण्डिजले ओमानलाई हरायो

आईसीसी पुरुष एकदिवसीय विश्वकप ग्लोबल क्वालिफायर्स अन्तर्गत सुपर सिक्सको खेलमा वेस्ट इण्डिजले ओमानलाई हराएको छ ।

जिम्बाब्बेको हरारे स्पोर्ट्स क्लबमा बुधबार भएको खेलमा वेस्ट इण्डिजिले ओमानलाई ७ वकेटले पराजित गरेको हो । ओमानले लिएको २२२ रनको मध्यम लक्ष्य वेस्ट इण्डिजले ३९.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

उसका लागि ब्रान्डन किंगले १०४ बलमा १५ चौकाको सहयोगमा १ सय रनको शतकीय पारी खेल्दा शाई होप ६५ बलमा ४ चौका र २ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय इनिङ्ग खेलेर अविजित रहे ।

केसी कार्टीले ४९ बलमा ३ चौकासहित २९ जोड्दा निकोलस पूरन १४ बलमा १९ रन जोडेर अविजित रहे । यसअघि टस हारेर पहिला ब्याटिङ्ग गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२१ रनको मध्यम योगफल तयार पारेको थियो ।

ओमानका लागि सुरज कुमार ६५ बलमा ५ चौका र १ छक्कासहित ५३ रनको अर्धशतकीय ईनिङ्ग खेलेर अविजित रहँदा शोएब खान ५४ बलमा ५ चौका र १ छक्कासहित अविजित ५० रनमा अविजित रहे ।

यस्तै मोहम्मद नदिम २०, आयन खानले ३० र कश्याप प्रजापतिले ३१ रन जोडे। बलिङ्गमा वेस्ट इण्डिजका रोमारियो शेफर्डले ३ तथा कायल मेयर्सले २ विकेट लिए।

यस जितसँगै विश्वकप क्वालिफायर्सको दौडबाट बाहिरी सकेको वेस्ट इण्डिजले सुपर सिक्समा पहिलो अंक जोडेको छ । यता ओमान भने सुपर सिक्समा जित विहीन हुँदै छैठौं स्थानमा रहेर विश्वकप क्वालिफायर्सबाट बाहिरिएको छ ।

वेस्ट इण्डिजले अन्तिम खेल शुक्रबार श्रीलंकासँग खेल्नेछ । श्रीलंका यसअघि एक खेल अगावै विश्वकपमा छनौट भईसकेको छ ।