दसैँको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- हामीलाई यत्तिकै रुमलिने छुट छैन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछाडि फर्कन वा अहिलेकै यथास्थितिमा रुमलिलिने छुट आफूहरूलाई नभएको बताएका छन् । शनिबार बिहान बडा दसैँको अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

यतिखेर मुलुक अवसर र चुनौतीको कठिन परिस्थितिबाट गुज्रिइरहेको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले ठूलो चुनौती मुलुकका सामु रहेको बताए । ‘हामीलाई पछाडि फर्कने या यत्तिकै रुमलिने छुट छैन । हामीले नेपाली जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नै पर्दछ,’ उनले भनेका छन्, ‘यसका लागि जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सृजनात्मक सोचको विकास हुन जरुरी छ । जात, वर्ग, धर्म, लिंग, वर्ण, भूगोल, आस्था र साम्प्रदायिक सोचबाट माथि उठेर गरे हुन्छ, परिवर्तन सम्भव छ भन्ने सामूहिक र सकारात्मक चिन्तन अहिलेको आवश्यकता हो ।’

उनले जनताको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नैपर्ने बताए । पूर्वीय सभ्यता दर्शन, चिन्तन, परम्परा, संस्कृतिहरूका दृष्टिले हामी वैभवशाली र गौरवशाली छौँ । हामीले नेपाली विशेषता र मौलिकताको संवर्द्धन एवं विकास गरेर ज्ञान, विज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ । यस दृष्टिले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी रहेको छ,’ प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, ‘यसको जगेर्ना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश समाज र संस्कृतिलाई थप समुन्नत तुल्याई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो । योसँगै हाम्रा मौलिक पर्वहरू भित्र रहेका सकारात्मक र मानवीय जीवनमूल्यका संस्कार प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेकोमा म जोड दिन चाहन्छु ।’