डब्लुएचओले पहिलो स्वस्थ सहरमा धुलिखेललाई सूचीकृत गर्दै

काभ्रेपलाञ्चोक । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ । काठमाडौँबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेललाई डब्लुएचओले करिब एक महिनाभित्र पहिलो स्वस्थ सहरको मान्यता दिई सदस्यता प्रदान गर्ने जनाइएको छ ।
दिगो विकास लक्ष्यका चार लक्ष्यअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी र गरिबी निवारणको क्षेत्रमा काम गरिरहेका विश्वका आठ देशमा धुलिखेलको अनुकरण भइरहेको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले जानकारी दिए । “डब्लुएचओले करिब एक महिनाभित्र सूचीकृत गरी नेपालको पहिलो स्वस्थ सहरको सदस्यता प्रदान गर्ने तयारी गरेको जानकारी आएको छ”, उनले भने । प्रमुख ब्याञ्जूका अनुसार नगरले स्वस्थ सहरका मान्यता प्राप्त गर्न स्वास्थ्य, पूर्वाधार र गरिबी निवारणको क्षेत्रमा तयारी गरिरहेको छ । भौतिक पूर्वाधारसँगै मानवीय आधारभूत आवश्यकतालाई पनि विस्तार गर्दै लगिएको नको भनाइ थियो

“विश्वका अन्य देशले समेत धुलिखेलको विकासको मोडललाई अनुकरण गरिरहेका छन्, अब हामी रोग नै लाग्न नदिन के गर्ने भन्ने योजनामा केन्द्रित भएका छौँ”, ब्याञ्जूले भने । नगरले हाल रू २३ करोडको लागतमा फोहरमैला व्यवस्थापनको काम गरिरहेको छ भने बनेपाको फोहर काठमाडौँ पुर्याउन नपर्ने तथा पनौती नगरको फोहर सङ्कलन गरी धुलिखेलमै व्यवस्थापन गर्ने गरी योजना अघि सारेको छ । सङ्कलन गरिएको फोहरबाट ग्यास, मल बनाइने उनले बताए ।

केही समयमा नै सहरी क्षेत्रका घरबाट निस्कने ३१ प्रतिशत फोहरपानी प्रशोधन गर्न ‘ट्रिटमेन्ट प्लान्ट’ सुधार गर्ने नगरको लक्ष्य छ । नगरका ८६ प्रतिशत घरमा स्वच्छ खानेपानी उपलब्ध गराइएको छ भने पोषणयुक्त धुलिखेल नगर निर्माणका लागि युनिसेफसँगको साझेदारीमा काम भइरहेको छ । यहाँका ७२ प्रतिशत स्थानीयलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराइएको नगरप्रमुख ब्याञ्जूले जानकारी दिए । उनका अनुसार सबै नागरिकलाई उपचारको पहुँच पुर्याउने उद्देश्यले नगरभित्रका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी घरदैलो कार्यक्रमका लागि स्वास्थ्यकर्मी खटाउने तयारी भइरहेको छ ।

नगरलाई क्षयरोगमुक्त बनाउने अभियानमा पनि पालिकाले काम गरिरहेको छ भने ‘आरोग्य सहर’ अभियान सञ्चालन गरिएको छ । उक्त अभियानको डब्लुएचओका हेडक्वाटर प्रतिनिधि डा. टौडिल इस्लाम नेतृत्वको टोलीले यही चैत पहिलो साता अनुगमन गरेको थियो । अनुगमनका क्रममा नगरप्रमुख ब्याञ्जूले स्वास्थ्य नागरिकको पहिलो अधिकार भएको बताउँदै स्वास्थ्यमा सबैको सहज पहुँचका लागि योजना, कार्यक्रम र व्यवस्थापन गरिरहेको टोलीलाई जानकारी गराएका थिए ।