शिक्षकहरूका माग सम्बोधन गर्छौं, मिलेर अघि बढौँ: कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्। बिहीबार कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै शिक्षकहरूका जायज माग सम्बोधन गर्ने आश्वासन दिएका हुन्।
उनले आज एक चरण नेपाल शिक्षक महासंघसँग वार्ता पनि भएको जानकारी दिए। ‘आज बिहान हामी एक राउन्ड महासंघसँग बस्यौँ,छलफल भएको छ,कतिपय कुराहरू भएको छ,अब अर्को चरण संवाद हुन्छ,कतिपय शिक्षा विधेयकमा नकरात्मक कुराहरू छ,सरकार पछि हट्दैन शिक्षकहरूकाे समस्या समाधान हुन्छ,’उनले भने।
उनले सबै पार्टीका नेताहरूलाई मिलेर उक्त समस्या समाधान गर्न पनि आग्रह गरे। ‘शिक्षकहरूको समस्या समाधान हुन्छ,सबैले गर्नुपर्छ, सरकारले अग्रसरता लिएको छ,’उनले भने।
संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध हिजोदेखि नै शिक्षक महासंघले काठमाडौंमा विरोध प्रदर्शन गरिरहेकाे छ। उनीहरूले देशभरको विद्यालयसमेत बन्द गरेका छन्। देशभरबाट एक लाखभन्दा बढी शिक्षकहरू आन्दोलनमा सहभागी भएको शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीको दाबी छ।