असार २७, २०७९ काठमाडौँ —
रंगकर्मी कुन्दन थारुको डेब्यू निर्देशन रहेको नाटक ‘कनन हरलता’ सिनामंगलस्थित पुरानो घर थिएटरमा मञ्चन हुँदैछ । थारु समुदायमा प्रचलित किम्दबन्तीमाथि आधारित नाटक असार २५ देखि मञ्चनमा आएको हो । प्रदेश २ मा बोलिने बज्जिका भाषामा नाटक तयार भएको छ । हालै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको ‘बहुभाषिक नाट्य उत्सव २०७९’मा छनोट भएको यो नाटक पुरानो घरमा ३१ गतेसम्म मञ्चन हुनेछ ।
बहुभाषिक नाट्य उत्सव २०७९’मा सातै प्रदेशका नाटक छनोट भई मञ्चन भएका थिए । त्यसमध्ये कुन्दन निर्देशित ‘कनन हरलता’ भने प्रदेश २ बाट छनोट भई असार १३ गते मञ्चन भयो । नाटकले पाएको प्रतिक्रियाले नै ‘कनन हरलता’लाई आफूले फेरि पुरानो घरको मञ्चमा प्रस्तुत गरेको कुन्दन बताउँछन् । यसअघि २०७६ मा ‘इलाम राष्ट्रिय लोक नाट्य महोत्सव’मा छनोट भई यो नाटक मञ्चन भएको थियो । त्यतिबेलाका कलाकारहरु अन्य नाटकमा व्यस्त भएपछि थारुले नयाँ टिमलाई ‘कनन हरलता’मा अभिनय गराएका छन् । ‘हालै महोत्सवमा नाटकको लाइट, स्टेज, प्रस्तुति, संगीत पाटोको तारिफ भयो । हाउसफूल दर्शकबीच नाटक देखाइएको थियो । कतिलाई भाषा बुझ्न पनि दिक्कत भएको थियो,’उनले भने ।
कनन हरलता’मा भगवान कृष्णको एक स्वरुपलाई प्रस्तुत गरिएको छ । ‘जब श्रीकृष्ण भगवानले आफ्नो विराट स्वरुप प्रकट गरे, सबले आ-आफूभित्र समाहित कृष्ण देखे । कसैले विकराल मृत्यु देखे । आखिरमा पुर्णरुप कसैले देखेनन् । यो मैले देखेको कृष्णको एक स्वरुप हो – कनन हरलता । महाभारत युद्धपछाडि जब कलियुगले परिक्षितको टाउकोमा बास गरे त्यस पछाडीको कटान शैली हो कनन हरलता,’नाटकको कथासार सुनाउँदै कुन्दनले भने ।
कुन्दनका अनुसारमा प्रदेश २ तिर पहिला-पहिला घुर ताप्दै ठूलाबडाबाट लोककथा सुन्ने प्रचलन थियो । विशेष गरी जाडो याममा ९ दिन ९ रात लगाएर बाजेहरुले कथा सुनाउने गर्थे । उनले यो कथा आफ्नो हजुरबुवा र बुवाबाट सुनेका थिए । तर, जब उनले यो कथामा नाटक लेख्ने सोचे तब पूरा कथा जानेका अर्का एकजनासँग आफूले कथा सुनेको र त्यसलाई नाट्य स्वरुपमा ढालेको कुन्दन सुनाउँछन् । ‘यो कथा एकजना बाजेलाई पूरा थाहा थियो । उहाँ बाजेलाई मैले ४ जोर परेवा दिइसकेपछि उहाँले यो कथा सुनाउनु भएको थियो । त्यही कथालाई मैले परिमार्जित गरेर नाट्य स्वरुप दिएँ,’उनले आफूले नाटक लेख्दाको क्षण सम्झँदै भने,’अब त्यतिबेला निर्देशकहरुले मलाई खासै नाटकमा खेलाउँथेनन् । नाटकका लागि अडिसन दिन्थें तर फर्काइदिन्थे । स्टेज पछाडि पनि कति बस्ने भनेर आफैंले केही गर्नुपर्छ भनेर यो दन्त्य कथामाथि नाटक तयार पारें । साथीभाइसँग सल्लाह मागे ।’
नाटकमा कलाकारहरु सरिता भुजेल, अरुण पौडेल, रितेश कार्की, जयराम ढकाल, उमेश चौधरी, शिशिर गिरी, प्रतीक चौधरी, युनिषा बजगाईं, सागर भट्टराई, सञ्जय चौधरी, सबिता थिङ, श्रवण यादवको अभिनय छ । त्यस्तै नाटकमा राजकमल फकिर, तुलसी बोहराको संगीत, जयराम ढकालको प्रकाश परिकल्पना, सन्देश कार्कीको प्रकाश परिचालन, सरिता भुजेलको भेषभूषा समावेश छ ।