काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण सम्भव नभएको जनाएकाे छ
विस्तृत सम्भाव्यता अध्ययनअनुसार धरान उपमहानगरपालिकामा प्राविधिक कारणले गर्दा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यवसायिक सम्भावना नभएकाे निष्कर्ष निकालिएकाे प्राधिकरणले मंगलबार निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।
साे क्षेत्रमा विमानस्थल बनाउँदा विद्यमान हवाई नीति, २०६३ मा भएकाे ‘तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तिमा ४० नटिकल माइल हुनुपर्ने’ नीतिगत व्यवस्था विपरीत हुने प्राधिकरणकाे ठहर छ । ‘आर्थिक विष्लेषण पश्चात सडक यातायातकाे सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा वन वे एप्रोच मात्र सम्भव भएकाले हवाई यातायातको दीर्घकालीन, नियमित र व्यवसायिक सम्भावना नभएको तथा अन्य विविध प्राविधिक तथा सञ्चालन अवरोधका कारण उक्त ठाउँमा विमानस्थल निर्माण गर्न सम्भव नरहेको प्राधिकरणकाे निष्कर्ष छ’- विज्ञप्तिमा लेखिएकाे छ ।