महिला विश्वकप: अष्ट्रेलियामाथि नाइजेरियाको रोमाञ्चक जित

काठमाडौं : फिफा महिला विश्वकप फुटबलमा नाइजेरियाले अष्ट्रेलियामाथि रोमाञ्चक जित निकालेको छ।

एक गोलले पछि परेको अवस्था उल्टाउँदै नाइजेरियाले ३–२ गोलको सनसनीपूर्ण जित निकालेको हो।

अष्ट्रेलियाकी भान इमोन्डले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टिमलाई अग्रता दिलाइन् । लगत्तै इन्जुरी समयमै उचेन कानुले गोल फर्काएपछि नाइजेरियाले पहिलो हाफ एक–एक गोलको बराबरी गर्‍यो।

खेलको ६५ औं मिनेटमा ओसिनाची ओहले अर्को गोल थपेपछि नाइजेरियाले २–१ ले अग्रता बनायो। ७२ औं मिनेटमा नाइजेरियाकी असिस्ट ओसोलाले गोल गर्दै खेल ३–१ को अवस्थामा पुर्याइन्। खेलमा फर्कन प्रयासरत आयोजक अष्ट्रेलियाले इन्जुरी समयको अन्तिम मिनेटमा एक गोल फर्कायो ।

अलान्ना केनेडीले गोल गरेपनि जितका लागि पर्याप्त भएन। जितसँगै नाइजेरिया २ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान ४ अंक भएको क्यानडा दोस्रो र अष्ट्रेलिया ३ अंकसहित तेस्रो स्थानमा रहेको छ।