नवरात्रिको छैटौं दिन: कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैंकाे छैटौं दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदैछ ।नवरात्रको छैटौं दिन कात्यायनी देवीको पूजा आराधना गरिन्छ । कात्यायनी देवी बृहस्पति ग्रहको अधिपति हुन्। देवी पार्वतीको जन्म कात्या ऋषिको घरमा भएको थियो, त्यसैले देवी पार्वतीको यो रूप महिषासुरलाई परास्त गर्ने दुर्गाको भयंकर योद्धा स्वरूप माता कात्यायनी भनेर चिनिन्छ।

नवरात्रको छैटाैं दिन कात्यायनी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो छैटौं स्वरूपमा चन्द्रघण्टाको नामले प्रसिद्ध हुनुहुन्छ । कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःखजस्ता संकट नास हुने धार्मिक विश्वास छ ।

यस दिन सात वर्षीया कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ र विशेष रूपमा उहाँलाई अलंकार वा गरगहना चढाइन्छ । यस दिन देशभरका शक्तिपीठमा भक्जनकाे घुइँचाे लाग्ने गर्छ ।

काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजा आराधना हुने गर्दछ ।

देवकार्य सिद्ध गर्न माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको जनविश्वास छ । कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ । उहाँलाई विशेष गरी गुलिया परिकार प्रिय रहेकाले विभिन्न प्रकारका मिष्ठान्न अर्पण गर्नुपर्ने मान्यता छ ।

दशैंको पहिलो दिन घटस्थापना गरेसँगै दूर्गाका ९ वटा रूपको पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।