सप्तरी । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन् । छिन्नमस्ता गाउँपालिका–३ मा रहेको धार्मिक एवम् पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा राष्ट्रपति पौडेलले विशेष पूजा गर्नुका साथै टीका, फूल तथा प्रसाद ग्रहण गरे ।
राष्ट्रपति पौडेललाई मन्दिर परिसरमा सांसद, स्थानीय सुरक्षा अधिकारी, गाउँपालिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए । सो अवसरमा गाउँपालिका अध्यक्ष विधानन्द चौधरीले राष्ट्रपति पौडेललाई मायाको चिनो प्रदान गरे ।
मन्दिर दर्शनपछि आयोजित समारोहमा राष्ट्रपति पौडेलले छिन्नमस्ता तराई–मधेसको प्राचीन र ऐतिहासिक शक्तिपीठ भएको बताउँदै यस्तो पवित्र भूमिमा राष्ट्रको अभिभावकीय रूपमा आउन पाउँदा खुसी लागेको बताए ।
उनले कोशी–कमला डाइभर्सनको काम सम्पन्न गरेर यो क्षेत्रमा कृषि क्रान्ति गर्न जरूरी रहेको उल्लेख गरे । उनले भने, ‘सप्तरी मेरो मुटुमा छ । यो जिल्लाको हरेक कुरामा म साथमा छु ।’
छिन्नमस्ता मन्दिरलाई विश्वका विभिन्न शक्तिपीठमध्ये ५२ औँ शक्तिपीठका रूपमा लिइन्छ । सरकारले २०६५ सालमा नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवका उपस्थितिमा जगतगुरु बालसन्तले छिन्नमस्तालाई शक्तिपीठका रूपमा घोषणा गरेको पीठाधीश महाकान्त ठाकुरले जानकारी दिए ।
पीठाधीश ठाकुरका अनुसार करिब एक हजार वर्ष अगाडि राजा शक्रसिंहले जङ्लमा सिकार खेल्ने क्रममा पोखरे गुफाबाट छिन्नमस्तादेवीको मूर्ति फेला पारेपछि सामान्य मन्दिरका रूपमा स्थापना गरेका थिए ।
त्यसपछि २०३९ सालमा भारतका तत्कालीन रेलमन्त्री ललितनारायण मिश्रले हवाईजहाज दुर्घटनाबाट जोगिएको खुसीयालीमा भगवतीको पक्की मन्दिर अझ ठूलो आकारमा बनाएका थिए ।
कूल १४ बिघा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा पोखरी र विभिन्न देवीदेवताका मन्दिरसमेत निर्माण गरिएको छ । मन्दिरमा दर्शन गरेपछि भाकल पूरा हुने जनविश्वास छ ।
यहाँ मासिक रूपमा नेपाल र भारतका हजारौँ भक्तजन दर्शन र पूजापाठ गर्नका लागि आउने गरेका छन् । यहाँ दैनिक खसी बोका र परेवाको बलि दिने प्रचलन छ । दसैँमा भने भव्य मेला लाग्ने गर्दछ ।