बनारस ज्ञानवापी मस्जिद परिसरमा रहेको व्यास तहखानेमा पूजाआजा गर्न सुरु

वाराणसी । वाराणसी जिल्ला अदालतले बुधबार दिएको फैसला कार्यान्वयन गर्दै जिल्ला प्रशासनले बिहीबार बिहान ज्ञानवापी मस्जिद परिसरमा रहेको व्यास तहखानेमा पूजाआजा गर्न थालेको छ । वाराणसी जिल्ला मजिस्ट्रेट एस राजलिंगमले बिहीबार बिहान पत्रकारहरूलाई यो जानकारी दिएका हुन् । उनले भने, ‘अदालतले दिएको आदेशको पालना गरिएको छ ।’ ज्ञानवापी क्याम्पसस्थित व्यास तहखाने अगाडि ब्यारिकेडिङबारे सोधिएको प्रश्नको जवाफमा उनले फेरि ‘अदालतको आदेश पालना भएको’ बताए ।जब पत्रकारले डीएमलाई पूजा गरिएको हो कि भनेर सोधे, उनले फेरि एउटै जवाफ दिए, ‘अदालतले जे भन्यो त्यसको पालना गरियो।’ यो पनि संयोग हो कि ३८ वर्ष पहिले सन् १९८६ मा अयोध्याको बाबरी मस्जिदको ताला १ फेब्रुअरीमा खोलिएको थियो ।