युगकविलाई तीन दिन सम्झना

 

काठमाडौँ — युगकवि सिद्धिचरण श्रेष्ठको १११ औं जन्मजयन्ती विशेष कार्यक्रमका साथ मनाइने भएको छ । युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले आगामी जेठ ८ देखि तीन दिन राजधानीमा विशेष कार्यक्रमका साथ युगकविको जन्मजयन्ती मनाउने निर्णय गरेको हो ।

प्रतिष्ठानले यो वर्षको युगकवि सिद्धिचरण पुरस्कार सिस्नुपानी नेपाललाई प्रदान गर्ने भएको छ । त्यस्तै प्रतिष्ठानले वर्ष ०७७, ०७८ र ०७९ को सिद्धिचरण युवा पत्रकारिता पुरस्कार क्रमश: गजुरधन राई (ओखलढुंगा), पारसप्रकाश नेपाल (भोजपुर) र लहना मिडिया काठमाडौं संस्थालाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारहरू जेठ ९ मा विशेष समारोहबीच हस्तान्तरण गरिने भएको छ ।