कलाकार दुर्गा बरालको पोखरामा नागरिक अभिनन्दन

पोखरा,  । कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार नागरिक अभिनन्दन तथा रथारोहण भएको छ। ८० वर्ष पुग्नुभएका पोख्रेली कलाकार वात्स्यायनको सम्मानमा यहाँका करिब तीन दर्जन साहित्यिक तथा वाङ्मयिक संस्थाले उहाँको नागरिक अभिनन्दन तथा रथारोहण गराएका हुन्। आफ्नो पुस्ताका उत्कृष्ट कलाकार वात्स्यायन कार्टुनले परिचित हुनुहुन्छ।

पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखराका साहित्यिक, वाङ्मयिक संस्था गरी ३२ संघसंस्थाले कलाकार बरालकै निवास नदीपुरदेखि विन्ध्यवासिनी मन्दिरसम्म रथारोहण गराई अभिनन्दन गरेको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले बताउनुभयो।

वात्स्यायन निवास नदीपुरदेखि सुरु रथयात्रा कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी परिसरको सभाकक्षमा पुगेको थियो।

कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष पौडेलले पोखरामा जन्मिएर कलाकारिता क्षेत्रमा वात्स्यायनले पुर्‍याएको योगदान अतुलनीय रहेको भन्दै विगतमा उहाँसँगको सानिध्यता स्मरण गर्नुभएको थियो। देशकै निधिको अभिनन्दन गर्ने अवसर पोखरेलीका लागि सुनौलो सौभाग्य भएको भन्दै सहभागी सबैलाई उहाँले धन्यवाद समेत दिनुभयो ।