पहिलोपटक हुम्लाको सिमकोटमा २ वटा टिप्पर पुगे

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा २ वटा टिप्पर पुगेका छन् ।

नेपालगञ्ज, सुर्खेत हुँदै १ हप्तामा ती टिप्पर शुक्रबार सिमकोट आइपुगेका हुन् ।

सदरमुकाम सिमकोटमा दक्षिण कर्णाली करिडोरको बाटो भएर पहिलोपटक हुम्ला पुगेका टिप्पर र चालकलाई स्थानीयले फूलमालाले स्वागत गरेका छन् ।

उत्तरी नाम्खा गाउँपालिकाको च्याछरा भिर खण्डको सडक छिचोल्नका लागि आवश्यक १२ हजार डिजेल ढुवानी गर्ने क्रममा ती टिप्पर आइपुगेका हुन् । नेपाली सेनाले निर्माण गरिरहेको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने छारे भिर सडकखण्ड पार गरेर २ वटा टिप्पर सिमकोट पुगेका जनाइएको छ ।

नाम्खाको च्याछरा भिर छिचोल्ने जिम्बा लिएको ओएसिस इन्जिनीयर्स एन्ड बिल्डर्स प्रालिका प्रोपाइटर प्रेम कार्कीले सोही खण्डका लागि डिजेलको आवश्यक परेपछि टिप्पर हुम्ला ल्याइएको बताए ।

उनले च्याछरा सडक निर्माणका लागि डिजेल नहुँदा काम रोकिएपछि जिल्ला प्रशासन र मन्त्रालयमा आग्रह गरेपछि छारे खण्डबाट नेपाली सेनाले उक्त सवारी गुड्नका लागि अनुमति दिएको हो ।

छारे भिरबाट ती सवारी चल्न नदिएपछि ३ दिन स्याल्तडी बसेर विभिन्न प्रक्रिया पूरा गरेपछि टिप्परलाई यहाँ आउन अनुमति प्राप्त भएको प्रोपाइटर कार्कीले बताए । टिप्परले खार्पुनाथ गाउँपालिकाको कर्णाली नदी पार गरेर आएका हुन् ।

नेपाली सेनाले छारे सडक खण्डबाट अन्य कुनै पनि सवारीसाधन र मानिसलाई सोही सडकबाट आवतजावत गर्न दिएको छैन ।

उत्तरी नाम्खाको च्याछरा सडक छिचोल्न बाँकी रहेको १७ किलोमिटर सडकका लागि अझै ३० हजार डिजेल आवश्यक पर्ने उनले बताए । च्याछरा सडकखण्ड आगामी असार १० गतेसम्म ठूला सवारीसाधन गुड्न सक्ने बनाउने लक्ष्य भए पनि आवश्यक ‘म्याट्रल’ नहुँदा ढिलाइ भएको छ ।

सडक खण्डलाई असारमा ठूला सवारी सामान्य आवतजावत गर्न सकिने गरी कात्तिकमा सम्पन्न गर्ने कार्कीले बताए ।