सिंहदरबारको फोहोर उठेन, परिसर भित्रै व्यवस्थापन गरिँदै

काठमाडौं : दुई सातादेखि काठमाडौं महानगरले सिंहदरबार भित्रको फोहोर उठाएको छैन। विभिन्न चौध बुँदामा असन्तुष्टि र सुझाव लेखेर सिंहदरबारको फोहोर उठाउन नसक्ने घोषणा महानगर प्रमुख बालेन साहले गरे पछि फोहोर व्यवस्थापन नभएको हो।
शाहले महानगरको समस्यालाई सिंहदरबारले सहयोग नगरेको भन्दै फोहोर नउठाउने घोषणा गरेका थिए ।
लामो समयदेखि फोहोर नउठेपछि सिंहदरबारमा फोहोरको थुप्रो देखिन थालेको छ। जसले गर्दा यस क्षेत्रमा दुर्गन्ध फैलिन सक्ने र मानव स्वास्थ्यमा असर पर्नसक्ने भएपछि सिंहदरबारभित्रै विभिन्न व्‍यवस्थापनको तरिका अपनाउन थालिएको छ।
सिंहदरबार परिसर भित्रै कुहिने र नकुहिने दुई थरिका फोहोरलाई छुट्टाछुट्टै किसिमले व्‍यवस्थापन गरिन थालिएको छ । कुहिने फोहोरलाई खाल्डो खनेर व्यवस्थापन गरिएको छ भने नकुहिने फोहोरलाई छनोट गरेर बाहिर पठाउने काम भइरहेको छ।