काठमाडौंमा खस्यो ५५ प्रतिशत मत, मतपेटिका गणनास्थल पुर्‍याइँदै

काठमाडौँ —  काठमाडौंमा ५५ प्रतिशत मत खसेको छ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा। यहाँ रहेका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । मतदानका लागि तोकिएको साँझ ५ बजेसम्मको अवधिमा सबै मतदान केन्द्रहरूमा मतदान सकिएको छ ।

प्रारम्भिक तथ्यांकअनुसार काठमाडौंका दस निर्वाचन क्षेत्रहरूमा ५५ प्रतिशत मत खसेको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । ‘सबै केन्द्रहरूमा मतदान सकिएको छ । बेलुकी ५ बजेपछि कुनै पनि केन्द्रमा मतदाता देखिनुभएन,’ उनले भने, ‘त्यसैले हामीले मतदानको प्रक्रिया टुंग्याएर मतपेटिका संकलनको काम थालेका छौँ ।’

उनकाअनुसार मतदान केन्द्रहरूबाट मतगणनास्थलहरूमा पेटिका संकलनको काम प्रारम्भ भइसकेको छ ।

क्षेत्र नं. १ मा ४५ हजार १८, क्षेत्र नं. २ मा ८१ हजार ९७०, क्षेत्र नं. ३ मा ५८ हजार ८०५, क्षेत्र नं. ४ मा ६९ हजार ७५२, क्षेत्र नं. ५ मा ७० हजार ९१९, क्षेत्र नं. ६ मा ६२ हजार १०२, क्षेत्र नं. ७ मा ६१ हजार २९१, क्षेत्र नं. ८ मा ५३ हजार १०६, क्षेत्र नं. ९ मा ७२ हजार १७३ र क्षेत्र नं. १० मा ७६ हजार ९०६ मतदाता छन् ।