काठमाडाैं । सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) काे कभर्डहलमा भएको प्रतियोगितामा नेपालले २९ स्वर्णसहित २६ रजत र ६ कास्य जित्दै च्याम्पियन बनेकाे हाे ।
प्रतियोगितामा २५ स्वर्ण, २२ रजत र १७ कास्यका जितेर भारत दाेस्राे भयाे । ६ स्वर्ण, ७ रजत र १४ कास्य जित्दै बंगलादेश तेस्राे भयाे । ४ स्वर्ण, १ रजत र १९ कास्यसाथ पाकिस्तान चौथो भयाे । २ स्वर्ण, ८ रजत र २९ कास्य जितेकाे श्रीलंका पाँचौँ भयाे । २ कास्य जितेकाे भुटान छैटौँ भयाे ।
नेपाल कराँते महासंघद्वारा आयोजित प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका एनओसी टिम, भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडीकाे सहभागिता थियाे ।