अष्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्स नेपालमा

अष्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्स दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुगेका छन्। भ्रमणमा अष्ट्रेलियाको नेपालसँगको सम्बन्ध र भविष्यमा हुनसक्ने सहकार्यका अवसरको बारेमा चर्चा हुने यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ।

सहायकमन्त्री वाट्सले भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

सो अवसरमा उहाँले अष्ट्रेलियासँगको सहकार्य, ६३ वर्षभन्दा पुरानो कूटनीतिक सम्बन्ध र झाँगिदो जनस्तरको सम्बन्धलगायत विषयबारेमा चर्चा गर्नेछन्। अष्ट्रेलियामा नेपाली समुदाय सबैभन्दा चाँडो बढिरहेको आप्रवासी जनसङ्ख्या भएको छ । हाल करिब एक लाख ३० हजार नेपाली अष्ट्रेलियामा बसोबास गर्दछन् ।

भ्रमण कार्यक्रमको मुख्य आकर्षणका रूपमा १३औँ शताब्दीको पाटनको सुलीम टोलस्थित रत्नेश्वर मन्दिरको टुँडाल समुदायलाई फिर्ता गर्न पाटन स¬ङ्ग्रहालयमा आयोजना हुने कार्यक्रममा सहायकमन्त्री वाट्स सहभागी हुनेछन् ।

आर्ट ग्यालरी न्यु साउथ वेल्सले यो महत्त्वपूर्ण कलाकृति नेपाललाई फिर्ता गरेको हो। उक्त सङ्ग्रहालयका निर्देशक डा माइकल ब्राण्डले उक्त टुँडाल हस्तान्तरण गर्नेछन्।

यसैगरी उनले काठमाडौँ विश्वविद्यालयको हाल अष्ट्रेलियाली संस्थासँग भइरहेको सहकार्य र खानी उत्खनन, हरित हाइड्रोजन इन्धनसम्बन्धी अनुसन्धान र हाल भइरहेका विद्यार्थी आदानप्रदान कार्यक्रमलगायत विषयमा भविष्यमा हुनसक्ने सहकार्यका बारेमा समेत जानकारी लिनेछन्।

सहायकमन्त्री वाट्सले बनेपास्थित बायोभ्याक कम्पनीमा अत्याधुनिक निदानात्मक परीक्षण प्रयोगशाला र पशु खोप विकास तथा उत्पादन कार्यमा अष्ट्रेलियाबाट भएको प्रविधि हस्तान्तरण र शैक्षिक र अनुसन्धान सहकार्यका बारेमा जानकारी लिनुहुने दूतावासले जनाएको छ।

उनले डा सन्दुक रुइत र अष्ट्रेलियाली डा फ्रेड हलोजको सहकार्यमा स्थापित तिलगङ्गा आँखा प्रतिष्ठानको भ्रमण गर्ने तालिका छ । पछिल्लो ३० वर्षमा अष्ट्रेलियाली सरकार र फ्रेड हलोज फाउण्डेशनले तिलगङ्गा आँखा प्रतिष्ठानलाई आँखा स्वास्थ्य सेवा प्रदान गर्न सहयोग गरिरहेको छ। साथै उक्त सहायताबाट नेपालमा र अन्तर्राष्ट्रियस्तरमा वितरण हुने इन्ट्राअकुलर लेन्स उत्पादन गर्ने कारखाना स्थापना भएको छ ।

साथै सहायकमन्त्री वाट्सले अष्ट्रेलियाका हिन्दू र बौद्धमार्गीको आस्थाको केन्द्र रहेका र उनीहरूको सांस्कृतिक सम्बन्ध रहेका पशुपतिनाथ र बौद्धनाथ क्षेत्रको पनि भ्रमण गर्नेछन्। उनले अष्ट्रेलियाबाट शिक्षा प्राप्त गरेर नेपालका विभिन्न क्षेत्रमा कार्य गर्दै सफलता हासिल गरेका नेपाली पूर्वविद्यार्थीलाई पनि भेट्ने कार्यक्रम रहेको छ।

सहायकमन्त्री वाट्सले अष्ट्रेलियामा निर्मित पोर्टेवल अल्टिच्युुड च्याम्बर हिमालयन उद्धार सङ्घलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। उक्त उपकरण सङ्घले सोलुखुम्बुको फेरीचे र सगरमाथा आधार शिविरमा रहने आकस्मिक क्लिनिकमा प्रयोग गर्नेछ।

उनको यो भ्रमण कार्यक्रममा बङ्गलादेशमा छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने र भूटान तथा भारतको द्विपक्षीय भ्रमण गर्ने कार्यक्रम पनि समावेश छ।