सर्वोत्कृष्ट सन्देशमूलक गीतकार विधामा प्रकाश सुवेदीले हात पारे अवार्ड´

यही असोज ४ गते सम्पन्न  आठौँ राष्टिय राप्ती म्युजिक अवार्डबाट उत्कृष्ट सन्देशमूलक गीतकार विधामा चर्चित गीतकार प्रकाश सुवेदी` सिप सिकौं दक्ष बनौँ´ बोलको गीतबाट पुरस्कृत भएका छन्। यो गीत करिव २ वर्ष अगाडि नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,  वैदेशिक रोजगार बोर्डको सहयोगमा नेपाली युवा युवतीहरुलाई स्वदेशमा या विदेशमा जहाँ रहे पनि  सिप सिकेर स्वनिर्भर बनी काम गर्नुपर्छ भन्ने चेतना जगाउन तयार पारिएको थियो। हरि लम्सालको सङ्गीत र स्वर रहेको यस गीतमा  बहुचर्चित गायिका मेलिना राईले गायनमा साथ दिएकी छन्।

सिपमूलक तालिम लिएर दक्षता हासिल गरेको  व्यक्तिलाई आफ्नो भाग्य निर्माण गर्न र सुखी/संमृद्ध जीवन बिताउन निकै सहज हुन्छ,  सिपयुक्त व्यक्तिले भाग्यमा भन्दा कर्ममा विश्वाश गर्नुपर्छ, कर्मशील व्यक्तिको भाग्य आफ्नै हात र पौरखमा हुन्छ र जो व्यक्ति काममा दक्ष छ संसारको जुनसुकै  कुनामा पुगेता पनि ससम्मान काम पाउँछ भन्ने राम्रो सन्देश यो गीतले बोकेको छ।

निशान घिमिरेको निर्देशन/ सम्पादन, निशाल पौडेलको छायाङ्कन  र सुष्मा निरौला, घनश्याम जोशी, सचिन मल्ल, सञ्चारिका सुवेदी, सम्पदा सुवेदी लगाएतका कलाकारहरुक‍ो अभिनय रहेको गीति भिडियोमा समाजको  एउटा संघर्षशील  प्रतिनीधि पात्रले सुखी र संमृद्ध जीवन निर्माणका लागि गरेका  विभिन्न संघर्षका चरणहरुलाई अति कलात्मक तरिकाले प्रस्तुत गरिएको छ।

 

जमलस्थित राष्ट्रिय नाचघरको हलमा  सम्पन्न भएको सो अवार्ड समारोहमा राष्ट्रिय भाव, सन्देशमूलक, पप, लोक,आधुनिक,  चलचित्र गीत, अभिनय, छायाङ्कन, निर्देशन, सम्पादन सहित विभिन्न ५३ विधामा अवार्ड प्रदान गरीएको थियो । रापती समाजका अध्यक्ष सीमा पुरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख  अतिथ्य शहरी बिकासमन्त्री माननीय मेटमणी चौधरीले गर्नुभएको थियो ।

बहुप्रतिभाशाली  गायक शीव परियार देखि पछिल्लो समयकी अत्यन्तै चर्चित गायिका  एलिना चौहानले अवार्ड पाएको सो कार्यक्रममा  गीत लेखन, सङ्गीत निर्माण, सङ्गीत संयोजन, गायन बाध्यबादन, ध्वनि समिश्रण, भिडियो निर्देशन, सम्पादन, छायाङ्कन, अभिनय लगाएतका विविध विधाका सर्जक, कलाकार र प्राविधिकहरु  पुरस्कृत भएका थिए। बिच बिचमा गायन, नृत्य र लोकबाजाले मनोरञ्जन दिलाईरहेको कार्यक्रममा अग्रज कलाकार, सामाजिक व्यक्तित्व, बाल कलाकार, पत्रकार,  सहयोगि संस्था र प्रायोजकलाई समेत सम्मान गरिएको थियो।

समाजका उपाध्यक्ष गोबिन्द मधुर आचार्यले  संयोजन गरेको सो कार्यक्रममा मिडिया संयोजकमा  प्रकाश बराइली `अभिव्यक्ति´ र  निर्णायक संयोजकमा बरिष्ठ गायिका एबं राष्ट्रिय सभाका सदस्य माननीय कोमल ओली रहनुभएको थियो ।