सुन तस्करी प्रकरण : दीपेश पुन फेरि पक्राउ

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश फेरि पक्राउ परेका छन् । उनलाई रुपन्देही प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पत्रको आधारमा शुक्रबार फेरि पक्राउ गरेको हो ।बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले मागेको धरौटी बुझाएसँगै उनी छुटेपनि लगत्तै पक्राउ परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पुष्टि गरे ।
उनले शुक्रबार राति रातोपाटीसँग भने, ‘दीपेश पुनको केस के हो भने उनको बारेमा सीआईबीमा अर्को उजुरी छ । सीआईबीले त्यहाँबाट छुटिजाने भएमा अर्को अनुसन्धानलाई पठाइदिनु भनेको थियो । अदालतले मागेको धरौटी भनेको ४ लाख हो । त्यो बुझाएपछि यहाँको अदालतको आदेशको सन्दर्भमा प्रक्रिया पुरा भएपछि रिहा भएका हुन् । तर रिहा भएपनि सीआईबीले लेखेको पत्रअनुसार सोहीअनुसार प्रबन्ध गरेर फेरि सीआईबी पठाएका छौँ ।’
पुनलाई शुक्रबारनै काठमाडौँ पठाइसकेको पनि उनले बताए । पुनलाई अब छाड्ने कि नियन्त्रणमै राखेर अनुसन्धान अघि बढाउने भन्नेबारे सीआईबीले थप निर्णय गर्ने उनको भनाइ छ । ६० किलो सुन तस्करी प्रकरणमा मुछिएकाले पुन छानबिनको दायरामा रहेको बताइएको छ