काभा महिला भलिबल :नेपाल सेमिफाइनलमा प्रवेश

बंगलादेशलाई ३–० को सेटमा पराजित गर्दै नेपाल काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज (मंगलबार) भएको दोस्रो खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा नेपालले बंगलादेशमाथि २५–१०, २५–८ र २५–९ को जित निकालेको हो।

नेपालको जितसँगै भारत पनि सेमिफाइनलमा प्रवेश गरेको छ। भोलि (बुधबार) अब नेपालले समूहको अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। भोलि हुने खेलबाट समूह विजेता र उपविजेताको छिनोफानो हुनेछ।

जारी लिगको समूह ए मा भारत ६ अंकसहित शीर्ष स्थानमा छ। समान अंक जोडेको नेपाल दोस्रो स्थानमा छ।

लगातार दोस्रो हारसँगै किर्गिस्तान र बंगलादेश भने समूह चरणबाट बाहिरिएका छन्।

समूह बी मा २ खेलेकोमा दुवै खेल जित्दै ६ अंकका साथ कजाकस्तान शीर्ष स्थानमा छ। एक खेल खेलेको उज्वेकिस्तान दोस्रो स्थानमा छ।