दोहोरो भीडन्तमा सुडानी प्रसिद्ध गायिका शाडेन गार्दुदको मृत्यु

काठमाडौँ — सुडानमा जारी द्वन्द्वका बीच सैनिक र अर्धसैन्य बलका फौजको दोहोरो भीडन्तमा सुडानी प्रसिद्ध गायिका शाडेन गार्दुदको मृत्यु भएको छ ।

एक महिनादेखि सेना र अर्धसैन्य बल र्‍यापिड सपोर्ट फोर्स आरएसएफका फौजबीच भीडन्त जारी छ ।

ओमदुरमान सहरमा शनिबार भएको पछिल्लो भीडन्तको क्रममा गायिका गार्दुदको मृत्यु भएको हो । साउदी अरेबियामा आइतवार युद्धविरामको वार्ता सुरु हुनुअघि गार्दुदको मृत्यु भएको हो । जवकि शनिबार ओमदुरमान र यससँगै जोडिएको खार्तूममा दुई पक्षबीच भीषण लडाइँ भएको थियो ।

गत अप्रिल १५ मा दुई सुरक्षा फौजबीच भीडन्त भएयता ओमदुरमान प्रमुख रुपमा प्रभावित सहर हो । गायिका गार्दुद अल-हश्माबमा बस्दै आएकी थिइन् । जुन राष्ट्रिय टिभी र रेडियोको कार्यालय नजिकै छ ।

अलजजिराका अनुसार भीडन्तको क्रममा गार्दुद मारिएको उनका परिवारजनले पुष्टी गरेका हुन् । उनकी भतिजीले गार्दुद आफ्ना लागि आमा जस्तै भएको उल्लेख गर्दै सामाजिक संजालबाट मृत्युको खबर सार्वजनिक गरेको अलजजिरामा समाचार छ ।सुडानमा जारी द्वन्द्वका कारण ६०० भन्दा धेरैको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा सर्वसाधारणहरू पनि छन् । दुई पक्षबीच साउदी अरेबियामा वार्ता भइरहँदा पनि सुडानमा भीडन्त रोकिएको छैन । एक महिनाको अवधिमा ५ हजार एक सयभन्दा धेरै घाइते भएका छन् भने दसौं हजार मानिस विस्थापित भइसकेका छन् ।