मुकारुङ र ओझा अमर नेम्वाङ स्मृति स्रष्टा सम्मानद्वारा सम्मानित

फिदिम, साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा स्वर्गीयलाई ‘अमर नेम्वाङ (लिम्बू) स्मृति पुरस्कार’बाट पुरस्कृत गरिएको छ।
फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमर नेम्वाङको २०७५ सालमा निधन भएपछि उहाँकै परिवारका सदस्यले प्रतिष्ठानमार्फत उक्त पुरस्कार कोष स्थापना गरेका हुन्। र उक्त पुरस्कार नेपाली साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै स्वर्गीय अमर नेम्वाङ (लिम्बू) स्मृति प्रतिष्ठानले जनही ५० हजार रुपैयाँ राशिको पुरस्कारसहित सम्मान पत्र प्रदान गर्ने गरेको छ ।

मुकारुङ र ओझालाई नेम्वाङको चौथो स्मृति दिवसका अवसरमा फिदिममा आयोजित समारोहमा प्रमुख अतिथि संविधान सभा सदस्य भीष्मराज आङदेम्बेले सम्मानसहित पुरस्कार प्रदान गर्नुभएको हो।
यसअघि उक्त पुरस्कारबाट शारदा सुब्बा, बिना थिङ, डा. देवी क्षेत्री दुलाल, मुनाराज शेर्मा, वीर नेम्वाङ र डा. गोविन्दराज भट्टराई सम्मानित भइसकेको प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्वाङले बताउनुभयो।
प्रतिष्ठानले सोही कार्यक्रममा जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ७ र १३ का अग्नि पीडित तथा फिदिम र फालेलुङका पहिरो पीडित चार परिवारलाई १० हजार रुपैंयाका दरले राहत उपलब्ध गराएको छ।
यसैबीच जयनारायण आदर्श मावि आङसराङ कक्षा १० की भूमिका स्याङतेनलाई प्रतिष्ठानद्वारा स्थापना गरिएको १० हजार राशिको गरिब तथा जेहेन्दा छात्रवृत्ति प्रदान गरिएको छ। सम्मान, पुरस्कार छात्रवृत्ति र राहत वितरण कार्यक्रम कवि प्रकाश थाम्सुहाङको अध्यक्षतामा सम्पन्न भएको थियो।