‘व्यथित काव्य वनिताश्री पुरस्कार’श्रेष्ठ र बेलवासेलाई

काठमाडौं : जरा कलाकार एवं कवि नरेन्द्रबहादुर श्रेष्ठ र कवि एवं पत्रकार ठाकुर बेलवासेलाई  `व्यथित काव्य वनिताश्री पुरस्कार’ प्रदान गरिने भएको छ ।

तीसको दशक देखि नेपाली कविता र रुखका जरामा कला सिर्जना गरेर उत्कृष्ट साहित्य सेवा गरे वापत श्रेष्ठलाई २०८० सालको उक्त पुरस्कार प्रदान गरिने भएको हो । भने पचासको दशक देखि कविता साहित्य र पत्रकारितामा निरन्तर सक्रिय योगदान गरे वापत   बेलवासेलाई २०८१ सालको उक्त पुरस्कार  प्रदान गरिने भएको  वनिता पत्रिकाले  जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

पुरस्कृत श्रेष्ठका तीनवटा कविता कृति प्रकाशित भएका छन् ,भने उनले शारदा साहित्यिक मासिक लगायत दर्जन बढी पुस्तकको सम्पादन गरेका छन् । श्रेष्ठ दुई  दर्जन बढी मानसम्मान र पुरस्कारबाट पुरस्कृत भएका छन् ।

यसै गरी बेलवासेका तीन वटा कविता कृति प्रकाशित  भएका छन् । साथै उनका (पी सेभेन) को एक संयुक्त कविता कृति र एक समालोचना कृति पनि प्रकाशित छन् । अढाई दशक देखि पत्रकारितामा सक्रिय बेलवासे रेटियो र टेलिभिजन पत्रकारितामा लोकप्रिय मानिन्छन् । राष्ट्रिय पत्रकारिता पुरस्कार , युवा वर्ष मोती पुरस्कार र क्षेत्रिय प्रतिभा पुरस्कार लगायत  दर्जन बढी पुरस्कार र सम्मान प्राप्त बेलवासेले राष्ट्रिय कविता महोत्सवमा २०५८ मा तृतीय र २०६९ मा प्रथम पुरस्कार प्राप्त गरेका छन् ।

पुरस्कार उपयुक्त समय पारेर प्रदान गरिने वनिता पत्रिकाकी सम्पादक /प्रकाशक एवं साहित्यकार लक्ष्मी उप्रेतीले बताएकी छिन् ।