मुक्तिनाथ दर्शन त्रैमासिकको नयाँ अङ्क सार्वजनिक

मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, मुक्तिनाथ दर्शन त्रैमासिक, नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्रको संयुक्त तत्त्वावधानमा सञ्चालित मानव पुस्तकालयको तेईसौँ अध्यायको कार्यक्रम वैशाख ८ गतेका दिन सुकेधारास्थित जेष्ठ नागरिक मिलन केन्द्रमा सम्पन्न भएको छ।

नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्रका संस्थापक अध्यक्ष विष्णुप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव रामचन्द्रमान सिंह तथा लेखक एवम् पूर्व प्रशासक नरेन्द्रराज पौडेलले आ-आफ्ना परिचय सहितको संक्षिप्त जीवनी तथा प्रशासनिक कार्य अनुभवका बारेमा बताउनु भएको थियो । साथै, तत्कालीन अवस्थाको प्रशासनिक अवस्था र हालको अवस्था बारेमा मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा स्वामित्व हस्तान्तरण पछिको मुक्तिनाथ दर्शन त्रैमासिकको २०८० माघ,फागुन चैत अङ्कको सार्वजनिक समेत गरिएको थियो।

कार्यक्रममा सुशील शम्शेर जबरा, पूर्व न्यायाधीश कृष्णप्रसाद बस्याल,साहित्यकार प्रयागराज भट्टराई’वाशिष्ट’,मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका संरक्षक तथा समालोचक युवराज मैनाली, मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका अध्यक्ष तथा कवि कलानिधि दाहाल, पत्रकार-साहित्यकार पुरुषोत्तम दाहाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने समाजका अर्का संरक्षक वरिष्ठ युरोलोजिष्ट प्राडा अर्जुन देव भट्टले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा डेढ दर्जन कवि तथा कवयित्रीहरूले आ-आफ्ना रचना वाचन गरेका थिए।

रचना वाचन गर्ने क्रममा केही कविहरूले हिन्दी गीत गाएर सुनाएका थिए।
उपस्थिति पुस्तिकामा तीन दर्जनको नाम देखिए पनि कार्यक्रम लम्बिँदै जानाले अन्तिममा एक दर्जनको मात्र उपस्थिति रहेको देखिन्थ्यो।

कार्यक्रमको सञ्चालन समाजकी सदस्य सुशीला शर्मा धमलाले गर्नुभएको थियो ।