‘चरैवेति’ उपन्यास लोकापर्ण तथा परिसंवाद कार्यक्रम सम्पन्न

नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात हलमा आयोजित एक कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, लेखक भुवनहरि सिग्देल, समीक्षकद्वय डा. अशोक थापा र सुमन वर्षाका र सुनपकुवा मा. वि. मोरङका संस्थापक प्रधानाध्यापक प्रेमचन्द्र सापकोटाले संयुक्त रूपमा कृति सार्वजनिक गरेका थिए ।

‘चरैवेति’ उपन्यासको लोकापर्णपछि परिसंवाद कार्यक्रम भयो । नयनराज पाण्डेको प्रमुख आतिथ्यमा उपन्यासकार जीवन्त, डा. अशोक थापा र सुमन वर्षाबिच भएको परिसंंवादमा कवि महेश क्षितिजले सहजीकरण गरेका थिए ।

उपन्यासकार जीवन्तले केही व्यक्तिगत जीवनका सन्दर्भ र वर्तमान सामाजिक राजनीतिक परिवेशमा उब्जिएका प्रश्नहरुको समाधानका लागि समालोचना विधाबाट आख्यान क्षेत्रमा आएको विचार व्यक्त गरेका थिए । उनले धर्म परिर्वतन गरेपछिको वैयक्तिक मानसिकता र नेपालमा आदिबासी जनजातिहरुको पहिचान सङ्कटमा इसाईहरुको भूमिका जस्ता सन्दर्भबाट उब्जिएका प्रश्नहरुको सन्धानबाट यो उपन्यास सिर्जना भएको विचार व्यक्त गरे ।

समीक्षक थापाले धर्मपरिर्वतनको विषय उठान गरी चरैवेति उपन्यासले नेपाली उपन्यास परम्परामा नवीन आयाम थप गरेको विचार व्यक्त गरे । बाइबल ग्रन्थको भौतिकवादी समाजशास्त्रीय व्याख्या गरी तिनका विरोधाभासलाई विषय बनाई उपन्यासकारले चुनौती उठाएको धारणा पनि प्रस्तुत गरे ।

सुमन वर्षाले पूर्वी नेपालको भौगोलिक परिवेशमा किपट क्षेत्रको इतिहास र झोरा फाँडेर बस्ती बसेको सन्दर्भलाई सजीव ढङ्गले उपन्यासमा प्रस्तुत गरिएको विचार व्यक्त गरिन् । उनले यस उपन्यासको नवीन ज्ञान र सत्यको खोजीका लागि निरन्तर अघि बढिरहनुपर्छ भन्ने भाव ग्रिसेली मिथक ओडिसीसँग सादृश्य रहेको धारणा प्रस्तुत गरिन् ।

परिसंवाद कार्यक्रममा उठेका सन्दर्भहरुलाई संश्लेषण गर्दै प्रमुख अतिथि पाण्डेले उपन्यासमा सामान्य कमीकमजोरी भए पनि यसले उठान गरेको विषय समय सान्दर्भिक र नवीन विषय भएको साथै सुन्दर कला संयोजन रहेकाले २०८० सालको उत्कृष्ट कृति भएको धारणा व्यक्त गरे ।

उक्त कार्यक्रममा सुनपकुवा माध्यमिक विद्यालय, मङ्गलबारे मोरङका पूर्वविद्यार्थीहरुका तर्फबाट अवकाश प्राप्त प्रधानाध्यापक प्रेमचन्द्र सापकोटालाई अभिनन्दन गरी ताम्रपत्र पनि प्रदान गरिएको थियो । तीन दशकभन्दा लामो समयसम्म शिक्षा क्षेत्रमा सेवा गरेका अवकाश प्राप्त प्र.अ. सापकोटाले आफ्ना विद्यार्थीहरुले गरेको प्रगति र उन्नतिमा सबैभन्दा ठुलो आनन्द मिल्ने विचार व्यक्त गरेका थिए । यसले आफ्नो रोगी जीवनमा बाँच्ने हौसला बढाएको भन्दै हर्ष प्रकट गर्नुका साथै उपन्यासकार जीवन्तको सफलताको शुभकामना पनि दिएका थिए ।

उपन्यास पेज टर्नर प्रा.लि.ले बजारमा ल्याएको हो । यसको मूल्य ५२५ रहेको छ ।