काभा कप भलिबल : नेपाली टोलीको विजयी शुरुवात

काठमाडौं : काभा वुमन्स च्यालेन्ज कप भलिबलमा घरेलु टोली नेपालले विजयी शुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज (सोमबार) भएको उदघाटन खेलमा कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले विजयी शुरुवात गरेको हो।
नेपालले कीर्गिस्तानमाथि २५–११, २५–१९ र २५–११ बाट सहज रुपमा खेल जितेको हो। जितसँगै नेपालले ३ अंक जोडेको छ।
आजै भएको अर्को खेलमा उपाधि दावेदार भारतले बंगलादेशमाथि ३–० को सोझो सेटमा खेल जित्दै विजयी शुरुवात गरेको छ।
भारतले बंगलादेशमाथि २५–३, २५–९ र २५–६ बाट सहज रुपमा खेल जितेको हो। जितसँगै भारतले समूह ‘ए’ मा ३ अंक जोडेको छ।
आज नै भएको अर्को खेलमा उज्वेकिस्तानले श्रीलंकामाथि ३–० को सोझो सेटमा जितेर विजयी शुरुवात गरिसकेको छ।
लिगको अन्तिम खेलमा साँझ ७ बजे माल्दिभ्स र कजाकस्तानबीच प्रतिस्पर्धा हुँदै छ।
८ राष्ट्रको सहभागिता रहेको च्यालेन्ज कपमा सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ।
एक हप्तासम्म चल्ने प्रतियोगिताको शुरुवाती ३ दिन ४ खेल र बाँकी ४ दिन २ खेल हुनेछन्।
दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन्।