काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब नयाँ ढंगले धक्का दिएर अगाडि बढ्ने बताउनुभएकाे छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमा निर्माण सम्पन्न चार सय के.भी. इनरुवा जिआईस सवस्टेसनकाे शुक्रबार उद्घाटन गर्दै उहाँले प्रधानमन्त्री बनेको १ वर्ष पूरा भइसकेपछि नयाँ ढंगबाट क्रमभंग गर्ने बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे – ‘म प्रधानमन्त्री भएर कार्यकाल सुरु गरेकाे १ वर्ष पुग्दैछ, १ वर्ष पूरा भएपछि मैले नयाँ ढंगले धक्का दिएर क्रमभंग गर्दैछु अर्काे, त्यतिबेला नेपाली जनताकाे साथ रहने विश्वास व्यक्त गर्न चाहान्छु ।’
नेपालमा केही छैन र बस्न लायक देश पनि हाेइन भन्ने गलत भास्य निर्माण गरेर जनतालाई निराश पार्ने काम भइरहेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन पनि प्रधानमन्त्री प्रचण्डले अपिल गर्नुभयाे । ‘जनतालाई निराश पार्ने, नेपाल अध्याराे मात्रै छ, सबैतिर उज्यालाे कहिँपनि छैन, नेपाल बस्न लायक देश हाेइन भन्ने बढाे गलत प्रचारकाे भास्य बनेकाे छ, म नेपाली आम नेपालीलाई याे नकारात्मक भास्यबाट जनतालाई निराश बनाउने र देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल गर्दछु’-उहाँले भन्नुभयाे ।
नेपाल उज्यालाे छ, धेरै सम्भावना छ, हाम्राे भूगाेल, सम्पदा र जनशक्तिले धेरै काम गर्न सक्छ भन्ने विश्वास जनतामा जगाइने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले जनाउनुभयाे । एकताकाे बलमा मात्र जनतामा आत्मविश्वास जगाउन सकिने भन्दै उहाँले आफूहरुले जनतामा आत्मविश्वास जगाउने काम गरेकाे दाबी गर्नुभयाे ।
सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको उर्जा क्षेत्रले फड्को मारिरहेको उहाँले बताउनुभयाे । घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनासाथ अहिले उत्साहजनक कामहरु भइरहेका प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
विगतमा आफू नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालिलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको दाबी पनि उहाँले गर्नुभयाे थियो । देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने सुनौलो दिन चाँडै आउने दाबी पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
Comments are closed.