आज प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै

काठमाडाैं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ । संघीय संसद् नयाँ बानेश्वरमा प्रतिनिधि सभा बैठक बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक मध्यान्ह १२ बजेर ९ मिनेटमा बस्ने संसद् सचिवालयले जनाएकाे छ ।

प्रतिनिधि सभाको आजकाे बैठकमा सभामुख देवराज घिमिरेरले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची छ ।

बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले ‘बिमस्टेक बडापत्र प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसपछि उहाँले नै साे प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यव्यवस्था समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । उहाँले साे विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

यस्तै आजकाे राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २२६ (क) बमोजिम लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्थालगायत कार्यहरूको अनुगमन, निरीक्षण र मूल्यांकनको प्रतिवेदन, २०८०’  पेस गर्नुहुनेछ ।

बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्यांकन प्रतिवेदन, २०८०’ पेस गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राईले ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८०’ पेस गर्नुहुने कार्यसूची छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्तावको प्रस्तुत गर्नुहुनेछ । उहाँले नै साे विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।

बैठकमा राष्ट्रिय सभा नियमावली, २०७५ काे मस्याैदा समितिका सभापति सुरेशकुमार आलेमगरले राष्ट्रिय सभा नियमावली (दाेस्राे संशाेधन), २०८० माथि सदनमा दफावार छलफल र पारित गरियाेस् भन्ने प्रस्ताव प्रस्तु गर्नुहुने सम्भावित कार्यसूची रहेकाे पनि संसद् सचिवालयले जनाएकाे छ ।

Comments are closed.