आज शहीद दिवस,सपूतहरुकाे सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं ।
हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम हुँदैछन् ।

दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी आयोजना गरिएकाे छ । गृह मन्त्रालयका अनुसार यस वर्ष आज शहीद दिवसको दिन सार्वजनिक बिदा नहुने तर राष्ट्रिय पर्वका रूपमा मनाइने छ । सरकारले सार्वजनिक बिदा दिन यसअघि गरेको निर्णय अर्को वर्ष २०८१ सालदेखि लागू हुनेछ । शहीदलाई हरेक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेकाे छ ।

हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमसाथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । ​विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा हरेक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । शहीद सप्ताहमा काठमाडाैं महानगरले विविध कार्यक्रम गरेकाे थियाे ।

प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ माशहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

Comments are closed.