आवश्यक मल किनेका छौँ, संकट हुन्न : मन्त्री भुसाल

काठमाडौँ : कृषि, विज्ञान तथा प्रविधिमन्त्री डा. वेदुराम भुसालले चालू वर्षका लागि आवश्यक मलखाद खरिद गरिसकेको बताएका छन्।

शनिवार भक्तपुरमा आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले सरकारले यो वर्षका लागि आवश्यक मल खरिद गरिसकेको र केही आइसकेको र केही आउन बाँकी रहेको बताए। उनले मलका लागि ठूलो संकट नहुने बताए।

उनले कृषि क्षेत्रको विकासका लागि मन्त्रालयले काम गरिरहेको र मलमा बजेटको सुनिश्चितता गरिएको बताए। मन्त्री भुसालले आफ्नो पार्टी दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको तर निर्णायक भने नभएकाले आफ्नो हिसाबले काम गर्न नसकेको बताए।

उनले मन्त्रालयले बाँझो रहेको जमिन उपयोग गर्न नीति र बजेट छुट्याउने काम भएको बताए। उनले कृषिको बजारीकरण,औद्योगीकरणको समस्या समाधानका लागि पहल गरिएको पनि बताए।

उनले भने, ‘सरकारमा हामी दुईवटा मन्त्रालय लिएर बसेका छौँ। हामी आफैँले लिएको मन्त्रालयमा कति काम गर्नसक्यौँ। सधैँ मलको हाहाकार हुने भएकाले मल सुनिश्चितता हुने गरी बजेट निकासा गर्न लगाएका छौँ। यो वर्ष चाहिने मल खरिद गरिसकिएको छ। धेरै ठूलो संकट पर्दैन। बाँझो जमिन उपयोग गर्न नीति र बजेट छुट्याउने काम गरेका छौँ। कृषिको बजारीकरण‚ औद्योगीकरणको समस्या समाधानका लागि पहल गरिएको छ।’

मन्त्री भुसालले बाँझो जमिनको उपयोग बढाउने नीति लिएर आफूले काम गरिरहेको बताए।

Comments are closed.