कांग्रेसको महासमिति बैठकको तयारी पूरा, सोमबारबाट गोदावरीमा बैठक हुने

काठमाडौं । नेपाली कांग्रेसको सोमबार हुने महासमिति बैठकको तयारी पूरा भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी पार्टीका प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले चार दिनसम्म चल्ने बैठकको तयारी पूरा भएको जानकारी दिनुभयो । बैठकमा पार्टीको विधान संशोधन र नीति पारित विश्वकर्माले बताउनुभयो ।
बैठकमा आर्थिक, सामाजिक, धार्मिक सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव तथा महामन्त्रीहरूको सांगठानिक र समसामयिक राजनीतिक प्रतिवेदन माथि छलफल हुने उहाँले बताउनुभयो ।
बैठकका लागि पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्षहरू समेत रहने मूल आयोजक समिति गठन गरिएको छ ।
महासमितिको बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति गठन गरिएको छ । सांगठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापाले र समसामयिक राजनीतिक प्रस्ताव महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

Comments are closed.