कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ : आफूसँग हुँदा इमान छोडेपछि बेइमान भन्न मिल्दैन, साथीहरुबाट सहयाेग भएन
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका रुपमा आफूलाई नेपाली कांग्रेसबाट हुनुपर्ने जति सहयाेग नभएकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेसबाट सहयाेग नभएकै कारण राजनीतिक समीकरण फेरेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘एक वर्ष कार्यकाल पूरा भएपछिकाे सम्बाेधनमा मैले आशा जगाउन नसके पद नओगटिरहने भनेकाे थिएँ, म संकेत साथीहरुले व्यक्तिका रुपमा त माया गर्नुभयाे, तर परिवर्तन, सुशासन, समृद्धिकाे तीब्र आकांक्षा बाेकेकाे प्रधानमन्त्रीका रुपमा मलाई जति न्याय गर्नुपर्थ्याे त्यति गर्नुभएन ।’
सरकारकाे गतिसँग असन्तुष्ट छु भन्दा पनि कांग्रेसबाट सहयाेग नभएकाे भन्दै प्रधानमन्त्री प्रचण्डले औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गर्न आफूले नचाहेकाे र नयाँ गठबन्धन बनाएकाे बताउनुभयाे । तदर्थ सरकार चलाएर पदकाे रक्षा गर्ने कि, पदकाे जाेखिम उठाएरै भएपनि आफ्नाे राजनीतिक प्रतिबद्धता अनुसार राष्ट्र निर्माणमा लाग्ने भन्ने दुई विकल्प रहेकाेमा आफूले दाेस्राे विकल्प राेजेकाे प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । दाेस्राे विकल्प राेज्ने क्रममा देखिएका घटनाक्रमले कति जाेखिमपूर्ण थियाे र छ भन्ने कुरा देखाएका समेत उहाँले बताउनुभयाे ।
नयाँ गठबन्धन कति परिणामुखि हुनेछ भन्ने कुरा विश्वासकाे मत लिने बेलासम्म प्रमाणित हुने समेत प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । याे गठबन्धन सरकारले परिणाम दिन सकेन भने यसकाे औचित्य हुँदैन भनेर आजै बसेकाे पुर्नगठित मन्त्रिपरिषद्काे पहिलाे बैठकमा मन्त्रीहरुसँग भनेकाे बताउनुभयाे ।
कांग्रेस बैठककाे धारणा राजनीतिक धारणा भएकाे भन्दै उहाँले आफूसँग हुँदा इमान अर्काेसँग हुँदा बेइमान हुने कुरा न्यायाेचित नभएकाे बताउनुभयाे ।
गत चुनावमा माओवादीले सहयाेग गरेकाे तर कांग्रेसले राष्ट्रिय सभा चुनावमा अन्तरघात गरेकाे प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘माओवादीले गत चुनावमा जुन तहमा कांग्रेसलाई सघायो, त्यही तहमा आफूले सहयोग पाएन, त्यसले आपसी विश्वास कमजोर बनाएकै थियो, निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट पनि नेतृत्व पछि हट्यो, एउटा परिस्थतिमा फेरि जोडिएपछि पछि कोशी प्रदेशमा त कांग्रेसको एउटा समूहले विद्रोह नै गर्यो, गठबन्धनको नैतिकताको कसीमा त्यो विद्रोह दण्डित हुनुपर्ने थियो तर भयो पुरस्कृत, राष्ट्रिय सभा निर्वाचनमा त्यो समूहले माओवादी उम्मेदवारलाई अन्तरघातबाट पराजित नै गर्यो ।’
कांग्रेस महासमिति बैठकमा गठबन्धनकाे निन्दा गर्नेदेखि आफ्नाे मानमर्दन गरेकाे समेत प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । ‘कांग्रेस महासमिति बैठकमा विना सन्दर्भ त्यही गठबन्धनको निन्दा सुरू भयो जुन गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको थियो, निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेसमयको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक थिएन, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको अनि समावेशी, धर्मनिरपेक्ष र समाजवादउन्मुख संविधान निर्माणको मुख्य साझेदार रहेको नेपाली कांग्रेसको महासमिति बैठकमा स्टल नै राखेर जसरी धर्मका नाममा हस्ताक्षर अभियान चलाइयो, त्यसले कांग्रेसको संविधानप्रतिको प्रतिवद्धतामै आशंका जनाउन सक्ने जमिन तयार गर्याे’- उहाँले भन्नुभयाे ।
महासमितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र नभइ दानवीकरण नै गरिएकेा बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे – ‘०४७ सालकै संविधान ठीक भएको आशयको प्रतिवेदन वितरण गरियो, यसरी हामीबीच हिजो मिलिसकेका सैद्धान्तिक र वैचारिक विषयमा समेत शंका र अविश्वासको वातावरण बन्यो ।’
प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरिएपनि प्रधानमन्त्री नफेरिएकाे र त्यस प्रधानमन्त्रीलाई सबै दलकाे विश्वासकाे मत रहेकाे बताउनुभयाे ।
कानुनविपरीत काम गर्ने सहकारी र लघुवित्तलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाउनुभयाे । संकटमा साथ दिएकाे भन्दै उहाँले नेकपा एमाले, एकीकृत समाजवादी, जसपा र रास्वपालाई उहाँले धन्यवाद दिनुभयाे ।
Comments are closed.